म्याग्दीको रघुगंगा गाउँपालिका–६,स्थित रायखोर आधारभुत विद्यालयमा कक्षा १ मा अध्ययनरत सुजिना शेरपुञ्जा दैनिक दुई घण्टा हिँडेर विद्यालय पुग्छिन्। सडक सञ्जालले समेत नछोएको ठाटी र मुलपानीकी सजिना, रजिना शेरपुञ्जा पनि अन्य साथीहरू जस्तै विहानै झोलाभरि कापी, किताब बोकेर पहिरो थिचोल्दै विद्यालयसम्म पुग्छन्।

वडाकै सबैभन्दा विकट मानिने दुबै गाउँका बालबालिकालाई लक्षित गरी मुलपानीमा बालविकास केन्द्र सञ्चालन गरेपनि त्यसभन्दा माथिको पढाइका लागि २७ परिवारका विद्यार्थीले वर्षौंदेखि यस्तै पीडा झेल्दै आएका छन्।

विहान उठ्दा वित्तिकै खाना खाएर विद्यालय जानुपर्ने बाध्यताले धेरै विद्यार्थी नियमित विद्यालयमा पुग्दैनन्। कक्षा १–५ रायखोर र ६–१० का लागि पाखापानी र छिमेकी कुईनेमंगलेको रितुङ माविमा जानुपर्ने भएकाले कतिपय बीचमै विद्यालय छोड्न बाध्य भएको शितल बालविकास सहजकर्ता शुसिला शेरपुञ्जा पुनले बताईन्।

‘स्कुल पुग्न दुईघण्टा लाग्छ,फर्किन त्यति नै समय लाग्छ,‘बर्खाको समयमा तीन महिना नियमित विद्यालय जानै पाउँदैनन्,’पुनले भनिन्। उनले गाउँबाट विद्यालयसम्म पुग्ने पदैलमार्गमा चारवटा ठूलो पहिरो भएकाले असारदेखि भदौ महिनासम्म विद्यार्थीलाई समस्या हुने गरेको बताईन्।‘दैनिक चारघण्टाको यात्राले थकाइ लागेर पढ्नै सक्दैनन्,‘गाउँमै कक्षा ५ सम्म पढाइ हुने विद्यालयको आवश्यकता छ,’पुनले भनिन्।

कक्षा १–३ का विद्यार्थीको अवस्था देखेर निकै दुःख लाग्ने उनले बताईन्।  बालविकाससहजकर्ता पुनकी छोरा युसन कक्षा १ मा पढ्न दैनिक गाउँका विद्यार्थीसँगै जाने गरेका छन्। रायखोर, हलुवाङ पहिरोका साथै जंगल, खोल्साखाल्सी र भीरको बाटो हुँदै विद्यालय जानुपर्ने भएकाले एक्लै पठाउन समेत समस्या रहेको मुलपानीकी धनकुमारी पुनले बताईन्।

‘बिहान उठ्नेबित्तिकै विद्यालय जाने हतारो हुन्छ,घर फर्किंदा झमक्क साँझ परिसकेको हुन्छ,’उनले भनिन्। थकानले गृहकार्य गर्न र पढ्न गाह्रो हुने भएकाले बालविकास भएको स्थानमा कक्षा १ सम्मको अनुमतिका लागि पहल भइरहेको रायखोरका वडा सदस्य लिलबहादुर पुनले बताए।‘ठूला मान्छेलाई समेत दैनिक आवतजावत गर्न समस्या हुने पहिरोमा बालबालिका हिड्नुपरेको छ,’विद्यार्थीको संख्या थोरै भएकाले मापदण्ड पुगेको छैन’ पुनले भने।

उनले असार–भदौ महिना बाढीपहिरो र मंसिर–फागुनको छोटो दिनमा विद्यार्थीलाई समस्या हुने गरेको बताए। यता रघुगंगा गाउँपाकिलाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले भौगोलिक रुपमा विकट बस्तीहरूका बालबालिकालाई पठनपाठनमा समस्या रहेको बताए।

‘जनप्रतिनिधिले समेत अनुमतिका लागि पहल गरिरहनुभएको छ,‘बस्ती छरिएकाले सबै ठाउँमा स्कुलको अनुमति दिन सम्भव पनि छैन’ सुबेदीले भने। उनले घण्टौ यात्रा गर्दा थकानले गृहकार्य गर्न र पढ्न गाह्रो हुने गरेकाले शैक्षिक गुणस्तरमा समेत कमी आउने जोखिमलाई मध्यनजर गरी स्थलगत रुपमा अनुगमनबाट समस्या समाधानको पहल गरिने बताए।

वडा कार्यालय पाखापानी हुदै कोटगाउँ, रायखोरसम्म सडक सञ्जाल पुगेपछि अवको एकदुई बर्षभित्र बस्तीसम्म सडक सञ्जाल पुग्नेमा केही राहत हुने भएपनि अहिले नै बालबालिकाको पढाइ सहज हुने अन्य उपायका बारेमा प्रयास भइरहेको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए।

उनले वडा भित्रको दुर्गम बस्ती भएकाले विद्यार्थीको पठनपाठनलाई सहज बनाउन घुम्ती शिक्षाको योजना रहेको बताए। जिल्लाका अति विकट बस्तीमा नियमित सवारीसाधन सञ्चालन हुने भएपनि विद्यार्थीलाई सहुलियतको ब्यवस्था नहुदाँ दैनिक विद्यालयसम्म पुग्न घण्टौंको यात्रा गर्न बाध्य छन्। आर्थिक रुपमा विपन्न बालबालिकाले कोठा भाडामा लिएर बस्न नसक्ने अवस्थाका कारण ज्यानको बाजी राखेर घरबाटै विद्यालयसम्म पुग्नुपरेको छ।

Leave a Reply