मलाई एउटा कथाको याद आएको छ, रामानुज एउटा गाउँमा गएका थिए । गाउँको एउटा युवक आएर भन्यो, मलाई परमात्मा प्राप्त गर्नुछ । रामानुजले त्यो युवकलाई तलदेखि माथिसम्म हेरेर र प्रश्न गरे के तिमीले प्रेम गरेका छौ ? युवकले भन्यो, प्रेम ! यस्तो सांसारिक कुराबाट म सँधैं टाढा रहन्छु । मैंले कहिल्यै प्रेम गरिनँ । मलाई परमात्मा पाउनुछ ।
रामानुजले भने, अलिकति सम्झेर त हेर । तिमीले कहीँकतै प्रेम गरेका छौ कि ? युवकले भन्यो । तपाईं किन यसरी दोहो¥याई तेह¥याई प्रेमको कुरा गरिरहनु भएको छ ? मैंले कसैलाई प्रेम गरेको छैन । मलाई परमात्मा पाउने उपाय बताउनुहोस् ।

रामानुजको आँखामा आँसु आयो र उनले भने, बाबु ! तिमी अन्तै जाऊ, म तिमीलाई परमात्मा पाउने उपाय देखाउन सक्दिनँ । जसले कहिल्यै कसैलाई प्रेम गरेको छैन र गरेन, उसको जीवनमा परमात्माको कुनै शुरुवात हुनै सक्दैन । उसको अन्तरहृदयमा प्रेमको उदय हुनै सक्दैन किनभने प्रेमको क्षणमा जो कोही परमात्मा बन्दछ, उसले पाउँछ पहिलो झलक प्रभुको । त्यही झलकलाई मानिसले बढाउँछ, बढाउँदै जान्छ । एक दिन त्यो झलक पूरा हुन्छ, सम्पूर्ण जगत त्यसैमा रुपान्तरित हुन्छ । जसले पानीको थोपा देखेकै छैन, उसले सागर चाहियो भन्छ, ऊ भन्छ, पानीको थोपा नदेखेर के हुन्छ, मलाई सागर चाहियो । पानीको थोपासँग के मतलब ? मलाई त सागर चाहिन्छ ।

त्यो व्यक्तिलाई हामी भन्छौं, तिमीले पानीको थोपा देखेका छैनौ, पानीको थोपा पनि पाएका छैनौ तर पनि सागर पाउने इच्छा गर्छौ । तिम्रो दिमाग त ठीक छ ? सागर के हो ? यो पानीका अनन्त थोपाको जोड हो । परमात्मा के हो ? प्रेमको अनन्त थोपाको जोड हो । प्रेमको एक थोपा निन्दित हुन्छ त्यो पूरा परमात्मा निन्दित हुन्छ । तब हाम्रो अगाडि झुटो परमात्मा उपस्थित हुन्छन् । मूर्ति उपस्थित हुन्छ, पाठपूजा हुन्छन्, बली, भाकल हुन्छन् सबै व्यर्थका कुरा हुन्छन् । तर हाम्रो प्राणको अन्तर सम्बन्ध त्योसँग स्थापित हुन सक्दैन ।

यसर्थ परमात्मालाई जान्नु छ भने त्यो भन्दा अघि प्रेमलाई जान्न जरुरी छ । प्रेमको अनुभूति प्रेमको महसुस गर्ने माध्यम भनेकै मानव शरीर हो । यसैले योग दर्शनले भन्छ, “शरीरमाद्यं खलु धर्मसाधनम् प्राणायामः परं तपः ।। योग ध्यान महायज्ञम् । समाधि मोक्षस्थितिः ।।”अर्थात् शरीर नै सबै धर्म प्राप्तिको साधन हो । प्राणायाम नै परम तप हो । योग ध्यान र्नै महायज्ञ हो र समाधि नै मोक्ष स्थिति हो ।

यस कारण यहाँ अध्यात्मलाई जान्नु छ भने शरीरको महाविज्ञानलाई जान्नु जरुरी छ । सारा विश्व ब्रह्माण्डलाई जान्नु छ भने शरीरका अणु परमाणुलाई जान्न आवश्यक छ । यसलाई जान्नका लागि बुद्धले आविष्कार गरेका एउटा ध्यान विधि छ, त्यस विधिलाई विपश्यना ध्यान भनिन्छ ।

विपश्यनाको शाब्दिक अर्थ, वि भन्नाले विशेष प्रकारले । पश्यना भन्नाले पाली भाषामा हेर्नु, देख्नु, दर्शन गर्नु, जान्नु आदि इत्यादि हुन्छ । विपश्यनाको पूरा अर्थ विशेष प्रकारले हेर्नु वा दर्शन गर्नु भन्ने हुन्छ । यहाँ हेर्नु वा दर्शन गर्नु भन्नुको अर्थ आफ्नो श्वास प्रश्वासलाई आनापान सतियोगद्वारा हेर्नु अर्थात् दर्शन गर्नु विपश्यना ध्यानको पहिलो कदम हो । त्यसपछिका दिनहरुमा शरीरका विभिन्न अंग प्रत्यङ्गहरुमा भइरहेको संवेदनाहरुलाई हेर्ने वा थाहा पाउने क्रिया चल्छ ।

यसरी आफ्नो मनको माध्यमबाट शरीरको हरेक अंग प्रत्यङ्गहरुमा भइरहेको संवेदनाको विशिष्ट ज्ञान हुन थाल्दछ । बाहिरको विषय भोगसँग लठ्ठिएर बहिर्मुखी यात्रामा आशक्त भएको मनुष्य चित्त बिस्तारै अन्तर्मुखी यात्राको लागि अभिप्रेरित हुन थाल्दछ । जब चित्त रुप, रस, गन्ध, स्पर्श, शब्द जस्ता विषय भोगबाट विमुख भई अन्तरमनसँग सम्मिलित हुन पुग्दछ, तब आफ्नो शरीरको वास्तविक स्वरुपको अनुभव हुन थाल्दछ ।

साधकले ध्यानद्वारा आफ्नो मनलाई एकाग्र गरी अन्तर्दृष्टिको सहायताले शरीर ज्ञान विज्ञानको प्रत्यक्ष स्वरुपलाई अनुभव गर्न थाल्दछ । उसलाई यस्तो स्पष्ट अनुभव हुन थाल्दछ कि नाम र रुप दुवै अनित्य छन् । निरन्तर परिवर्तनशील छन्, प्रवाहशील छन्, गतिशिल छन्, क्रियाशिल र प्रक्रियाशिल छन् ।

साधकले आफ्नो अभ्यासद्वारा मनको एकाग्रता अझै बढाउँदै गएमा आन्तरिक शक्ति तेजस्वी हुँदै जान्छ । अनि मात्र मनुष्यको अन्तरमा रहेको वास्तविक मालिक जाग्नेछ । आफ्नो अँध्यारो मनमा दियो जलाउनेछ । आफ्नो दुःख के हो ? अज्ञान के हो ? पत्ता पाउनेछ र दुःखका कारणहरु थाहा लाग्नेछ । कारण थाहा लागेपछि निवारणको मार्ग खुल्नेछन् । मार्ग खुलेपछि मुक्तिमार्ग स्पष्ट हुनेछन् ।

एउटा सच्चा साधकले यहाँसम्मको यात्रा गर्नको लागि उसको पहिलो यात्रा शरीरबाट हुने गर्दछ । यसको लागि साधकले आफ्नो शरीरप्रति दिव्य प्रेम दर्शाउनपर्दछ । आजकलका मनुष्यहरु आफ््नै शरीरदेखि टाढा भागिरहेको छ, ऊ धेरै टाढा पुगिरहेको छ ।

आफ््नै शरीर आफ्नै जीवनबाट टाढिएको छ । यसरी टाढिएको मनुष्यले शरीरलाई प्रेम दर्शाउन सक्दैन । उसले धेरै परको कुरा गरिरहेको हुन्छ । तर शरीरको मर्म शरीरको धर्मको कुरा बिर्सेको हुन्छ । उसले ईश्वर परमेश्वरको कुरा गर्छ । तर प्रेमको निन्दा गरिरहेको छ । प्रेमको निन्दामा खनिएको मनुष्यले आफ्नो शरीरलाई प्रेम जगाउन सक्दैन । प्रेमको घटना घट्नुका लागि नजिक पुग्नुपर्छ ।

तर मनुष्य शरीरको नजिक पूग्न मानेको छैन । बस मनुष्यले प्रेमको नाउँमा उपद्रव मच्याइरहेका छन् । एकाथरिले शरीरलाई कृत्रिम रंगले रंगाउँदै हिंडेका छन् । यसलाई मोह आशक्ति भनिन्छ प्रेम भनिँदैन । अर्काथरिले ईश्वर प्राप्त गर्ने नाउँमा शरीरलाई अनावश्यक अत्याचार गरिरहेका छन् । अनेकौं किसिमले शरीरलाई दुःख, कष्ट दिइरहेका छन् । यसलाई घृणा र तिरस्कार भनिन्छ । प्रेम भनिँदैन । जहाँ प्रेम हुन्छ, त्यहाँ सम्मान हुन्छ । जहाँ प्रेम हुँदैन त्यहाँ या त मोह हुन्छ या त घृणा हुन्छ । जहाँ मोहको बन्धन हुन्छ त्यहाँ स्वतन्त्रताको सुगन्ध हुँदैन । जहाँ घृणा र तिरस्कार हुन्छ त्यहाँ प्रेमको फूल फक्रिन सक्दैन ।

यसकारण परमात्मा पाउन चाहनेले शरीरलाई प्रेम गर्न जानेको हुनुपर्छ । प्रेमले मात्र शरीरको कल्याण गर्न सक्छ । शरीरको कल्याण भएमा मात्रै परमात्मा सम्भव छ । यसकारण योगले भन्छ, सारा मठमन्दिरमा गएर पूजा गर, प्रार्थना गर तर त्यो भन्दा पहिले शरीरको पूजा गर, प्रार्थना गर । दुनियाँलाई प्रेम दर्शाऊ तर त्यो भन्दा पहिले आफ्नै शरीरलाई प्रेम दर्शाऊ । यदि तिमीले परमात्मा प्राप्त गरिहाल्यौ भने पनि परमात्माको दिव्य अनुभूति गर्ने वैज्ञानिक माध्यम नै शरीर हो । यसैले शरीरलाई स्वर्ग बनाऊ ।

Leave a Reply