माघको दोस्रो हप्ता जाडो अत्यधिक थियो। म मस्त निद्रामा थिएँ। मध्यरातमा कमलले फोन गर्यो र भन्यो ‘हामी पुन हिल जाऔं न’ त्यही रातमा योजना बनायौं।  पोखरामा जाडो अत्यधिक भएको बेला पुन हिलमा हामीलाई बरफको एक एक टुक्राले स्वागत गर्नेछ भन्ने अनुमान गर्यौं। हाम्रो यात्रा शुक्रबार तय भयो। शुक्रबार बिहान नास्ता गरेर सात बजे बागलुङ जाने गाडीमा चढ्यौं।

गाडीमा चढेको दुई घण्टामा नयाँपुल आइपुग्यौं। हाम्रो अन्तिम गन्तव्य पुन हिल थियो। पर्यटकीय सहर पोखरा त्यहाँबाट करिब २ घण्टा बागलुङ राजमार्गको बसयात्रापछि पुगिन्छ नयाँपुल। यहीँबाट सुरू हुन्छ अन्नपूर्ण पदमार्ग, यो प्रसिद्ध पदमार्ग अन्नपूर्ण संरक्षित क्षेत्रअन्तर्गत पर्छ।

घोरेपानी-पुन हिल यात्रा नेपालको सजिलो ट्रेकका रूपमा लिने गरिन्छ। यो ट्रेकको उच्च बिन्दु ३ हजार २ सय १० मिटर छ। जुन पुन हिल हो। यो गाह्रो र कडा पदयात्रा भने होइन। छोटो दूरीको घोरेपानी पुन हिल पदयात्रा यातायात सुविधाका कारण नयाँ पुलबाट उल्लेरी हुँदै थालिने गरिन्छ।

केही पर्यटक भने नयाँ पुलबाट हिँडेर पुग्ने गर्छन पुन हिल। अहिले नयाँ पुलबाट घोरेपानीसम्म घोडा सुविधा पनि छ। यो उपयोग गर्न नेपालीले ४ हजार र विदेशीले १० हजार तिर्नुपर्ने स्थानीय बताउँछन्।

हामीले भने नयाँ पुलबाट उल्लेरीसम्म जीपमा जाने निर्णय गर्‍यौं। कास्कीको नयाँ पुलबाट गन्तव्यमा पुगेर फर्कने समेतको दोहोरो भाडा प्रतिव्यक्ति तीन हजार पाँच सय रुपैयाँ तोकिएको रै’छ।

हाम्रो जीप नयाँ पुलबाट अगाडि बढ्दै थियो। पश्चिम नेपालको गण्डकी तथा धौलागिरि अञ्चलको उत्तरी क्षेत्रमा पर्ने नेपालको ठूलो संरक्षण क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र पनि नयाँ पुल काटेलगत्तै सुरूआत भएको त्यहाँ टाँसिएको बोर्ड देखेर हामीले थाहा पायौं।

सात हजार छ सय वर्ग कि.मीमा फैलिएको यो क्षेत्र कास्की,लमजुङ, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लामा फैलिएको थाहा पायौं।  माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरि हिमाल, मनाङ र मुस्ताङका उपत्यकाहरू गुरूङ र थकाली संस्कृतिहरू विश्वमै रमणीय प्राकृतिक दृश्यको आधारमा उत्कृष्ट मानिएको अन्नपूर्ण पदमार्ग आदि यस क्षेत्रका विशेषताहरू पर्दोरहेछ।

जीपभित्र साथीहरू दोहोरी गाउनमा व्यस्त थिए। रमाइलो गर्दागर्दै दुई घण्टा बितिसकेछ। दुई घण्टा जीप यात्रापछि हामी उल्लेरी पुग्यौं। उल्लेरीबाट घोरेपानी जम्मा ६ कि.मि रहेछ। तर पनि घोरेपानी पुग्न करिब ४ घण्टा लगातार हिँड्नुपर्ने त्यहाँका स्थानीयहरूले बताएका थिए। उल्लेरी हुँदै पहिलो गन्तव्य हुन्छ वनठाँटी, वनठाँटी हुँदै हाम्रो यात्रा हुन्छ नाङ्गेठाँटी करिब चार घण्टा हिँडाइपश्चात हामीहरू नाङ्गेठाँटी भन्ने ठाउँमा पुग्यौं। त्यहाँ रहेको हङ्ग्री आई रेष्टुरेन्टमा खाना खानका लागि विश्राम लियौं। २८०० मिटरमा रहेको घोरेपानी पुग्न नाङ्गेठाँटीबाट करिब दुई घण्टा जति लाग्ने होटलको साहुले बताए।

नाङ्गेठाँटीबाट उकालो लागेपछि ठाँउ ठाँउमा हिउँ पर्दो रहेछ। हामी त्यहाँको प्राकृतिकसँग असीमित रमायौं। जंगलै जंगल उकालो र तेस्रो बाटो खोलाको काखीबाट यात्रा अदभूत थियो। खोलाको कलकल पानी बगेको आवाज, चराचुरूंगीको चिरबीर आवाज, बाटोमा देखिएका झरनाहरू, तल-माथि गरिरहेका असंख्य पर्यटकहरू र सामान ओर्सानका लागि त्यस क्षेत्रमा प्रयोग हुने खच्चडसँगको जम्काभेट लगायतका धेरै कुराहरूले हाम्रो यात्रालाई रमाइलो गराइरहेको थियो।

उकालो सिध्याएर केही तेस्रो बाटो हिँड्दै थियौं। टाढैबाट देखिने नीलो टिनका छानाहरू भएका घरहरू देखिएपछि लाग्यो हामीहरू गन्तव्यमा आइपुग्यौं। हामी तल्लो घोरेपानीमा थियौं। माथिल्लो घोरेपानी पुग्न उकालो १० मिनेट लाग्ने रहेछ।

यात्रा गर्दा हामीले सुनेको थियौँ। उल्लेरीको उकालो डरलाग्दो रहेछ। नाकै ठोकिनेजस्तै। जब हामी माथिल्लो घोरेपानी पुग्यौं, त्यतिबेला हामीलाई युद्ध जितेको आभास भयो।

घोरेपानी बजारमा सुविधासम्पन्न होटलदेखि आर्थिक हैसियत अनुसार थुप्रै अतिथि गृह समेत रहेका छन्। हामीले घोरेपानी बजारमा भएको स्नोल्याण्ड होटलमा त्यो रात बितायौं। बिहान पाँच बजे उठेर हामीले पुन हिलको यात्रा तय गर्यौं।

धौलागिरि, अन्नपूर्ण हिमश्रृंखला घोरेपानीबाट पुन हिल १.५ कि.मि भएकाले ४० मिनेटमा पुग्न सकिन्छ। पुन हिल दृश्यका लागि उत्कृष्टस्थल हो नै, आँखै अगाडि हिम श्रृखंला देखिनु यसको महत्वपूर्ण विशेषता हो।

मोबाइलको टर्च लाइटको सहायताले जब हामी  पुन हिल पुग्यौं, हामीलाई स्वर्गमा पुगेको आभास भयो। आन्तरिक तथा बाह्य पर्यटकहरू अत्यधिक देखिन्थे।

सामुन्द्रिक सतहबाट ३ हजार २ सय १० मिटर उचाइमा रहेको पुन हिल पुगेपछि सूर्योदयको आनन्दसँगै धौलागिरि, अन्नपूर्ण लगायतका हिमश्रृंखला घामको झल्कोसँगै आँखै अघिल्तिर नाच्न लागे। घोरेपानी पुन हिल यात्राको अर्को महत्वपूर्ण पक्ष हो भ्यु टावर।

पुन हिलबाट देखिने सूर्योदय र हिमाली दृश्यले जो कोहीलाई नलोभ्याइ राख्न सक्दैन। त्यहाँ पुगेपछि वाह!  शब्द जो कसैको मुखबाट फुत्किहाल्छ। पुन हिल बसेर अलौकिक सूर्योदयको आनन्द लिने भू.पू मेजर स्वर्गीय टेकबहादुर पुनको योगदानको सम्झनामा यो पुन हिलको निर्माण गरिएको रहेछ।

पुन हिलबाट फर्केर खाना खाएपछि हामीले घोरेपानीबाट घान्द्रुक जाने निर्णय गर्‍यौं। घोरेपानीबाट घान्द्रुक १४ कि.मि रहेछ। त्यहाँ पुग्नको लागि ६ घण्टा हिँड्नुपर्ने रहेछ।

हाम्रो घोरेपानीदेखिको पहिलो गन्तव्य टाँडापानी थियो। टाँडापानी भन्ने ठाँउसम्म पुग्ने समयमा यस्ता उकालो र ओरालोहरू निकै धेरै आउँदा रहेछन्। नौ बजे घोरेपानी छोडेका हामी करिब तीन बजे टाँडापानी भन्ने ठाउँमा पुग्यौं।

टाँडापानीमा चिया नास्ता गरेर हामी घान्द्रुकतर्फ लाग्यौं। टाँडापानीबाट घान्द्रुकसम्मको बाटो तेस्रो र सजिलो भएको कारण केही सजिलो अनुभव भइरहेको थियो। जंगलको बाटो करिब १:३० घण्टा हिँडेपछि हामी घान्द्रुकको नजिक नजिक पुगिसकेका थियौं।

घान्द्रुकमा गुरूङ समुदायको बाहुल्यता रहेको परम्परागत शैलीका घर, गाउँको प्राकृतिक सुन्दरता, अर्गानिक खाना टिपिकल होमस्टे पर्यटकका मुख्य आकर्षणका केन्द्रबिन्दुका रूपमा रहेका छन्। हामी घान्द्रुकको होम स्टेमा बस्यौं।

भोलिपल्ट बिहान होम स्टेबाट घान्द्रुकमा रहेको डाँडा गाउँ हेर्न पुग्यौं। त्यहाँबाट दश मिनेट लाग्ने थियो। डाँडा गाँउ जहाँ अधिकांश गुरूङ समुदायको बसोबास छ यो सुन्दर गाउँ समुन्द्र सतहबाट २०१६ मिटरको उचाइमा अवस्थित छ। यो गाँउलाई प्रकृतिको सुन्दर उपहारका रूपमा लिने गरिन्छ। Source: setopati.com

Leave a Reply