आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले म्यादी प्रहरी भर्ना प्रक्रियामा म्याग्दीमा मागभन्दा दोब्बर बढी अवेदन परेको छ । ६ सय ५३ जना माग गरिएकोमा १२ सय ६४ पुरुष र ३ सय १६ महिला गरी १५ सय ८० जनाले आवेदन दिएका छन् । भर्ना खुलेसँगै डेढ महिने रोजगारीका लागि आवेदन दिन सयौं युवा चर्को घाममा प्रहरी काार्यालय बाहिर लामबद्ध देखिन्थे।

हरेक निर्वाचनमा उम्मेदवारले रोजगारीको ग्यारेन्टी, बैदेशिक रोजगारीलाई निरुत्साहित जस्ता चर्को नारा लगाएपनि निर्वाचन प्रयोजनका लागि मतदान प्रक्रिया र उम्मेदवारलाई जिताउने अभियानमा सक्रिय हुनुपर्ने यूवाहरू थोरै अवधिका लागि भएपनि म्यादी प्रहरीको जागिर रोज्नुपर्ने बाध्यता रहेको छ ।थोरै अवधिका लागि आवेदन मागिएपनि यस्तो आकर्षण देखिनु मुलुकमा बेरोजगारीको डरलाग्दो अवस्थामा प्रतिबिम्बित भएको छ ।

तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्न वापत एकमुष्ठ ७ हजार २ सय र पोसाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँका लागि सोचेभन्दा बढि आवेदनले राजनीतिक दलकका अहिलेसम्मका खोक्रा आश्वासनलाई पुष्टी गर्छ ।

सामान्यतया हरेक व्यक्तिलाई स्थायी जागिरकै चाहना हुन्छ ।अस्थायी जागिरले अल्पकालिन फाइदा दिएपनि दीर्घकालीन सोच राख्नेले स्थायी जागिरमै रुची देखाउनु स्वाभाविक हो । तर, म्याग्दीमा ४० दिनका लागि जागिर खान आवेदन मागिँदा समेत सयौंको संख्यामा युवाहरु आवेदन लिएर लाइन लाग्ने गरेका छन् ।

म्याग्दीका राजनीतिक दलले जनतालाई निर्वाचनको माध्यमबाट झुटो र पुरा नहुने आश्वासनले जनता आजित भएका छन् । थोरै समय भएपनि काम पाइने भएकाले म्यादी प्रहरीमा आवेदन दिन जिल्ला प्रहरी कार्यालयमा लामबद्ध यूवाहरुको पीडाले समेत म्याग्दीका राजनीतिक दल, निर्वाचित जनप्रतिनिधिको बास्तविकतालाई प्रष्ट पारेको छ । १८ देखि ५४ वर्षसम्मका सबैको एउटै गुनासो छ, जिल्लामा रोजगारीको अभावकै कारण बाध्य भएर म्यादीलाई रोज्नुपरेको। म्यादी प्रहरीमा भर्ना हुन आएकाहरु स्नाकोत्तर उर्तीण गरेकादेखि सीपमुलक तालिम लिएकासम्म छन् ।

योग्य भएर पनि अस्थायी प्रवृत्तिको यो जागिरमा आकर्षण हुनुले मुलुकमा बेरोजगारी बढेको बुझ्न कठिन छैन । म्यादी प्रहरीका लागि लामबद्ध युवाहरुको भीडले देशभर बेरोजगारी युवाको अवस्था कस्तो छ भनेर प्रष्ट पारेको छ । स्नातक उत्र्तिणा गरेकाले स्थायी रोजगारीको अभावमा म्यादीको अस्थायी रोजगारका लागि लामबद्ध हुनुपरेको छ । राजनीतिक दलका नेताहरु योग्यताभन्दा अस्थायी जागिरमा समेत कार्यकर्ता भर्नामा केन्द्रित छन् ।

हरेक स्थानीय तह, अन्य विभिन्न अभियानमुखी गतिविधि तथा कृषि, पशुपालन लगायत राष्ट्रियस्तरका गणना कार्यक्रमहरुमा समेत योग्यलाई बैकल्पिकमा समावेश गरेर कार्यकर्ता भर्ती गर्ने गरिएकाले बाध्य भएर स्नातकोत्तर उत्र्तिणा यूवाहरू समेत म्यादीको लाइन दिनभरी बस्नुपरेको छ । जबसम्म कार्यकर्ता भर्तीको अभियान रोकिदैं योग्य र शिक्षित यूवाहरू सधै छोटो समयको जागिरको खोजीमा भौतारिनुपर्ने बाध्यता रहन्छ ।

म्यादी प्रहरीमा आकर्षण बढ्दा निर्वाचन सुरक्षा गर्ने काम त सहज होला, तर यसले देखाएको बेरोजगारीको अवस्थाले अनेक जटिल प्रश्नहरु खडा गरेको छ, यसलाई सम्बोधन गर्ने निकायले यो पक्षलाई पनि ध्यान दिनुपर्ने आवश्यक छ । आवेदन दिनेको लाइनमा शिक्षित वर्ग समेतको संलग्नता हुनुले रोजगारीका लागि पलायनलाई थप बल पुग्ने भएकाले स्थानीय स्तरमा पहुँचभन्दा पनि योग्यताका आधारमा अवसर दिनुपर्ने देखिन्छ । बेनी साप्ताहिक समाचारपत्र

 

Leave a Reply