म्याग्दी सदरमुकाम बेनीबजारमा खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने कार्य तीव्र रूपमा अगाडि बढेको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाभित्र पर्ने बजारभित्र खाल्डाखुल्डी टाल्ने र कालोपत्रे जिर्ण भएको ठाउँमा मर्मत सुरु गरिएको हो । लामो समयसम्म मर्मत नहुदाँ जिर्ण बनेको सडकमा सवारीसाधन आवतजावतमा समस्या भएपछि वडाको योजनामा मर्मत सुरु गरिएको नगरका प्रबक्ता एवम् वडा अध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।

‘बजारभित्र आवश्यक सबै ठाउँमा काम हुन्छ,‘कालोपत्रेउक्कीएर खाडल परेको ठाउँमा पुरेर पुन कालोपत्रे गरिने छ’ वडा नं ८ का अध्यक्ष समेत रहनुभएका बराईलीले भन्नुभयो । नगरपालिकाले सडक मर्मत तथा कालोपत्रेका लागि वडा नं ७ मा २१ लाख र वडा नं ८ मा १६ लाख बजेट विनियोजन गरेको थियो ।

प्रविण सापकोटाको रामकृष्ण कस्ट्रक्सनले ठेक्का पाएको सडक मर्मत अन्तरगत बेनपा–७ मा बिरेन्द्रचोक, हुलाकचोक, बालमन्दिर चोक, संगमचोक र बेनपा ८ मा न्यूरोड, गणेशटोल, क्याम्पसचोक,शिक्षा मार्ग, अस्पतालचोक क्षेत्रमा सडक मर्मत गरिने छ खाल्डाखुल्डी पुरेपछि पानी जम्ने समस्या कम हुने र आवत जावतमा सहज हुने नगरपालिकाले जनाएको छ ।

सडक मर्मत गर्ने कार्य अघि बढाएकाले आवश्यक अनुगमन तथा समस्याका बारेमा जानकारी दिन समेत समुदायलाई अनुरोध गरिएको छ । यसअगाडी बेनीको सडकमा उपभोक्ता समितिमार्फत गरिएको कालोपत्रे नसकिदैं उप्किएको थियो । नगरपालिकाले विनियोजन गरेको बजेटबाट उपभोक्ता समितिले गरेको कालोपत्रेमा समस्या आएपछि ठेक्का प्रक्रियाबाटै यसपटक कालोपत्रे भइरहेको छ । म्याग्दीको सदरमुकाम बेनीमा एकतर्फी यातायातको नियमले सवारीसाधनको चाप बढेको छ ।

 

Leave a Reply