File photo\Google

नेपाल सरकारको ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि म्याग्दीबाट एउटा पनि विद्यालयले प्रस्ताव पठाएनन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ल्याइएको कार्यक्रमका लागि १ सय ४० सामुदायिक विद्यालय छनौट हुदाँ म्याग्दी जिल्लाका सामुदायिक विद्यालयले पटक-पटकको सूचनालाई समेत बेवास्ता गरेको पाइएको छ ।

पहिलोपटक लागु भएको कार्यक्रममा शिक्षा विकास समन्वय इकाईबाट जिल्लाका सबै सामुदायिक माविलाई जानकारी गराइएपनि विद्यालयका प्रअको बेवास्ताका कारण कार्यक्रम छनौटबाट म्याग्दी बन्चित भएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना निकालेर निर्देशक समितिले देशभरी छनौट गरेको विद्यालयमा विद्यार्थीले कृषि (बाली विज्ञान÷पशु विज्ञान÷बागवानी), इन्जिनियरिङ (सिभिल÷इलेक्ट्रिकल÷कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी कार्यक्रम चलाउन पाउने छन् ।

इकाई प्रमुख दलबहादुर थापाले सुचनाका बारेमा जिल्लाका सबै विद्यालयलाई जानकारी गराइएपनि कसैबाट प्रस्ताव नआएकाले पठाउन नसकिएको बेनीअनलाइनलाई बताउनुभयो । ‘हामीले विभिन्न माध्यमबाट सूचनाका बारेमा जानकारी दिएका थियौं,‘एउटा पनि विद्यालयबाट प्रस्ताव आएन,’ यो प्राविधिक शिक्षा सञ्चालनका लागि राम्रो अवसर थियो’ प्रमुख थापाले भन्नुभयो ।

छनौटमा परेका विद्यालयहरुलाई भुगोल, आवश्यकताका आधारमा माथि उल्लेख गरिएका विषय बाहेक वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यावसायिक कीट (मौरीपालन, च्याउ खेती र रेसम खेती) गर्न विद्यार्थीले सशर्त अनुदान पाउने थिए। कार्यक्रमका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम सञ्चालन कार्यविधि २०७८ गत पुस २७ गते जारी गरेको थियो ।

केन्द्रले यो कार्यक्रम सञ्चालन गर्न सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरेको थियो । म्याग्दीका विद्यालयहरुले राज्यबाट पाउने अनुदान सहितका सुविधाका बारेमा यसअगाडी समेत सूचनालाई ध्यान नदिदाँ धेरै अवसर गुमेको छ । यो कार्यक्रमका लागि म्याग्दीमा छनौट हुने मापदण्ड भएका धेरै विद्यालय थिए ।

Leave a Reply