बेनी नगरपालिका २ की ७२ वर्षिया यामकुमारी शर्मा विगत एक सातादेखि घाँटी चिलाउने, लामो समय नाक बन्द हुने,आँखा पिरा र टाउको भारी हुने समस्याले ग्रस्त हुनुहुन्छ । बुधबार अस्पतालमा गएर स्वास्थ्य जाँच गराउँदा वातावरणीय प्रदूषणका कारण यस्तो समस्या आएको चिकित्कहरुले बताएपछि उहाँले घरमा वस्दा समेत मास्क लगाउन सुरु गर्नुभएको छ । शर्मा मात्रै होइन केही दिनयता बढेको वायु प्रदूषणका कारण म्याग्दीका बालबालिका र बृद्धबृद्धाहरु विरामी पर्न थालेका छन् ।

आकाश धुम्मिने,घाम पनि नलाग्ने,पानी पनि नपर्ने, साविकको भन्दा बढी हावाहुरी चल्ने, धुवाँ र धुलो फैलिने जस्ता कारणले गर्दा यहाँका वासिन्दाहरु विगत एक सातादेखि समस्यामा छन् ।धुलोधुवाँको कारण एलर्जी भएका विरामीहरु अस्पतालमा धाउन थालेका छन् । बेनी अस्पतालका डा। जितेन्द्र कडेंलले बिरामीलाई सकभर घरमै आराम गर्न सझाउनुहुन्छ । “बाहिर जानैपरे धुलोधुवाँबाट बच्नु” भनेर चिकित्सकहरुले सुझाव दिए पनि बाहिर निस्केपछि धुवाँधुलो बाट बँच्न सक्ने अवस्था नरहेको सर्वसाधारण बताउँछन् ।

धुवाँ धुलोको कारण फोक्सोको समस्या लिएर विरामीहरु आउने गरेका बेनी अस्पतालले जनाएको छ । चिकित्सकहरुका अनुसार प्रदूषणबाट बँच्नका लागि स्पेशल माक्स लगाउन अनिवार्य छ ।बेनी अस्पतालमा उपचारका लागि आउने विरामीहरुमध्ये आधाभन्दा बढी विरामी वायू प्रदूषणबाट उत्पन्न विभिन्न रोगका हुने गरेका अस्पतालले जनाएको छ ।

यतिबेला म्याग्दीको आकाश धुम्मिएको छ । वातावरणमा एककिसिमको पिरोपना फैलिएको महशुस स्थानीयले गर्न थालेका छन् । विगत तीन दिनयता घाम पनि नलाग्ने र आकाशमा सफा बादल पनि नदेखिने गरेको स्थानीय जीवन रेग्मीले बताउनुभयो । तरकारी,फलफूल,गहँु,केराउ लगाएतका अन्यवालीहरुका पातमा फुस्रोपना देखिएको र बोट समेत ओइलाउन थालेका स्थानीयले बताएका छन् ।

विगत एक सातायता ग्रामिण क्षेत्रहरुमा विरामी पनि बढेका छन् । विशेषगरी प्रदूषणजन्य रोगका विरामीहरु देखिएकाले तीन चारदिनसम्म उनीहरु अस्पतालमा जचाँउन जाँदैनन् तर टाउको दुख्ने र घाँटीमा समस्या देखिन थाल्यो भने वल्ल उनीहरु अस्पताल आउने गरेका चिकित्सकहरुले बताएका छन् ।

वातावरणीय प्रदूषणले नाक, कान, घाँटीमा तत्काल समस्या पारे पनि दीर्घकालीन रूपमा मुटु, मस्तिष्क, फोक्सोलगायतका विभिन्न भागमा असर गर्ने चिकित्सकहरुको भनाइरहेको छ । “हावामा मिसिएका साना कण सासमार्फत शरीरभित्र सजिलै पस्छन् र रगतमा मिसिन्छन् जसका कारण दीर्घकालीन रोग लाग्छ” ज्यामरुककोट स्वास्थ्यचौकीका चिकित्सक खगराज निउरे भन्नुहुन्छ, “वातावरण प्रदूषणले बालबालिका, बृद्धबृद्धा गर्भवती र प्रतिरोधक क्षमता कम भएका मनिसमा सोझै असर गर्छ ।”

वातावरण संरक्षण नियमावली २०५४ को नियम १५ अनुसार सरकारले वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ लागू गरेको छ । मापदण्डअनुसार एक वर्षमा १८ दिनभन्दा बढी तोकिएको सीमा दूषित हावाले नाघ्नु हुँदैन।राष्ट्रिय मापदण्डमा ९ प्रदूषकलाई वायु प्रदूषणको परिधिभित्र राखिएको छ । विभागले स्थापना गरेका विभिन्न केन्द्रबाट टीएसपी, पीएम–१० र पीएम–२।५ को मात्रा मापन हुँदै आएको छ । राष्ट्रिय मापदण्डले एक वर्षमा ९५ प्रतिशत दिनमा सफा वातावरण हुनुपर्ने उल्लेख गरेको छ ।

 

Leave a Reply