जिल्लामा हुने विकास निर्माणका काममा स्थानीय युवाहरुको सहभागिता बढ्दै गएपछि योजनाहरु समयमै निर्माण सम्पन्न हुन थालेका छन् भने समुदायप्रति जवाफदेहि हुनुपर्ने भएकोले काममा पनि गुणस्तर देखिन थालेको छ ।

बाहिरका कामदारहरु ल्याएर विकास निर्माणका काम गराउँदा समयमै योजना सम्पन्न नहुने र बाहिरका कामदार समुदायप्रति जवाफदेही पनि हुनु नपर्ने हुँदा सम्पन्न भएका योजनाहरु पनि गुणस्तरहिन हुने समस्या रहेकोमा स्थानीय युवाहरु नै विकास निर्माणका काममा लागेपछि यस्ता समस्याहरु कम हुँदै गएका छन् ।

विगत दुई वर्षयता कोरोना महामारीका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवाहरु अहिले गाउँमा हुने विकास निर्माणका योजनाहरुमा धमाधम काम गरिरहेका छन् । स्थानीय तहले पनि विदेशबाट फर्केका स्थानीय युवाहरुलाई गाउँमा हुने विकास निर्माणका काममा पहिलो प्राथमिकता दिएपछि उनीहरुलाई सहज भएको हो ।

आर्थिक वर्षको अन्त्य हुने समय तीन महिना बाँकी रहँदा जिल्लाका ग्रामिण भेगहरुमा स्थानीय तहका योजनाहरु धमाधम निर्माण भैरहेका छन् । त्यसका साथै संघ, र प्रदेशका योजनाहरुमा पनि युवाहरुले धमाधम काम गरिरहेका छन् ।
गाउँ फर्किएका युवा विकास निर्माणमा जुट्न थालेपछि बाहिरबाट मजदुर ल्याउनुपर्ने बाध्यता हटेको छ ।

गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका कारण वडा स्तरमा रोजगारी सिर्जना हुनथालेको हो । गाउँकै युवाहरु विकास निर्माणका कामहरुमा जुट्दा योजना निर्माण र कार्यान्वयन गर्न सहज भएको रघुगंगा गाउँपालिका ४ दग्नामका वडाअध्यक्ष रुकबहादुर गर्वुजाले बताउनुभयो ।

उँहाले भन्नुभयो “आफ्नो गाउँमा निर्माण हुने विकासका योजनाहरुमा स्थानीय युवाहरुको नै संलग्नता भयो भने योजना सम्पन्न गर्न,कार्यान्वयन गराउन र जिम्मेवारी दिन धेरै सजिलो हुँदोरहेछ । दग्नामका ९ वटा योजनाहरु स्थानीय युवाहरुको संलग्नतामा निर्धारित समयभन्दा पहिले नै सम्पन्न भएका छन् ।”

वडामा भित्रिएका विकास योजनाहरुले गाउँमा रोजगारी सिर्जना भएको र युवा दैनिक रुपमा काम गर्न थालेको उँहाले बताउनुभयो ।“कतारबाट फर्केको दुई वर्ष भयो,कोरोना कहरका कारण फर्केर कतार जान नसकेपछि गाउँमै काम गर्न थालें,अहिले यहीको कामबाट सन्तुष्ट छु,एकदिन पनि फुर्सद छैन।

”रघुगङ्गा गाउँपालिका १ का सोनाम विकले भन्नुभयो “गाउँमा हुने विकास निर्माणका योजनाहरुले गाउँको विकास पनि भएको छ र हामीजस्ता युवाहरुले रोजगारी पनि पाएका छौं ।”

पालिकाबाट विनियोजन हुने बजेटका योजनाहरुमा मात्रै होइन जलविद्युत,सडक लगाएतका ठूला विकास निर्माणका योजनाहरुमा पनि विदेशबाट फर्केर आएका युवाहरुको संलग्नता बढेको छ । एकातिर युवाहरुले रोजगारी पाएका छन् भने अर्कोतिर गाउँमा आएको पैसा बाहिरिने दरमा पनि कमी आएको छ ।

विकास निर्माणका योजनाहरुमा स्थानीय युवाहरुको सहभागिता बढेपछि जनप्रतिनिधिहरुलाई पनि निकै सजिलो भएको रघुगंगा गाउँपालिका वडा नं १ का वडाध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो । युवाले काम गर्न थालेपछि योजना कार्यान्वयनमा सहजता भएको उहाँको भनाइ थियो ।

विकास आयोजनाहरुका कारण गाउँमा बेरोजगारीको समस्यामा समेत कमी आएको स्थानीयहरुले बताएका छन् । पहिला पहिला काम खोज्न शहरबजारतिर धाउनु पर्ने बाध्यता रहेकोमा आजभोलि गाउँमै संचालन भएका विकास आयोजनाहरुमा काम गर्न भ्याइनभ्याइ भएको बेनी नगरपालिका २ बगरफाँटका विदुर किसानले बताउनुभयो ।

कोरोना महामारीका कारण रोजगारी गुमाएर गाउँ फर्किएका युवाहरुले योजनाको जिम्मा लिएर काम गर्न थालेपछि कामको गुणस्तर समेत राम्रो भएको र समयमा नै योजनाहरु सम्पन्न भएका बेनी नगरपालिका २ का वडाअध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

Leave a Reply