युएसआईडीको सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा दोस्रो कार्यक्रमको आयोजनामा अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ । बुधवार र बिहीवार म्याग्दीको पर्यटकीयस्थल टोड्केमा पालिका पोषण सहजकर्ता तथा सामुदायिक पोषण सहजकर्ताहरुको लागि अर्धवार्षिक समीक्षासहित योजना वैठक गरिएको हो ।

जिल्लामा हाल सञ्चालनमा रहेको सुआहारा कार्यक्रमको अर्धवार्षिक समीक्षा तथा आगामी कार्यक्रमको योजनाको निर्माण गर्ने उद्देश्यसहित योजना वैठक आयोजना गरिएको सुआहारा कार्यक्रमले जनाएको छ । दुई दिनसम्म सञ्चालित कार्यक्रममा कार्यक्रमको तथ्याङ्क विश्लेषण, पृष्ठपोषण, रेकर्डिङ तथा रिपोर्टिङ, वित्त व्यवस्थापनमा हुने समस्या, चुनौती, नीति, नियमहरुको परिपालन विषयमा सहजीकरण गरिएको थियो ।

यसैगरी स्वास्थ्य र पोषण, पालिका तथा सामुदायिक पोषण सहजकर्ताहरुले स्वास्थ्य, पोषण र जेसीहरुमा गर्नुपर्ने कार्यको गुणस्तर सुधार, घरायसी खाद्यान्न उत्पादन तथा बजारीकरणअन्तर्गत गुणस्तर सुधार एवं कार्ययोजना निर्माण, संस्थागत नीतिनियम र उत्प्रेरणा, पोषण सुधारमा स्थानीय सुशासन, समुदाय र पालिकामा भएका असल अभ्यासको प्रस्तुती, समस्याको पहिचान तथा समाधानका उपायलगायत विषयहरुमा सहजीकरण गरिएको थियो । योजना वैठकमा सहभागीहरुको बीचमा अन्तत्र्रिmया र छलफल समेत गरिएको थियो ।

कार्यक्रममाथि सुआहाराको बागलुङ म्याग्दीका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र अधिकारी, वित्त तथा व्यवस्थापन अधिकृत दिपेन्द्र पौडेल, घरायसी खाद्यान्न उत्पादन तथा बजारीकरण अधिकृत युधिष्ठिर शर्मा, खानेपानी सरसफाई तथा स्वच्छता अधिकृत टिका उप्रेती, पोषण तथा स्वास्थ्य अधिकृत रामचन्द्र पन्थी, मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुन र सुआहाराको फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गर्नुभएको थियो ।

मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापाको अध्यक्षता, उपाध्यक्ष दिलमाया बिटालुको स्वागत र सचिव तिलकुमारी रानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष विनय श्रेष्ठ तथा पदाधिकारी, सदस्य एवं पालिका र सामुदायिक पोषण सहजकर्ताहरुले सहभागिता जनाएका थिए ।

Leave a Reply