म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारती र जिल्लाका सरोकारवालाबीच आज (शनिवार) भेटघाट भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीद्वारा भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरी नवआगन्तुक डिएसपी भारती र सरोकारवालाबीच परिचयात्मक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै डिएसपी भारतीले नागरिकहरु पनि विना बर्दीका प्रहरी भएकाले शान्ति सुरक्षा कायम गर्न र अपराध न्युनीकरणका लागि प्रहरीलाई सूचना दिएर सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाका सरोकारवाला निकाय सबैसँग आवश्यक समन्वय र सहकार्य गरेर आफू अगाडि बढ्ने बताउँदै शान्ति, सुरक्षा, अमनचयन कायम गर्न र आपराधिक क्रियाकलाप न्युनीकरण गर्नका लागि सूचना सबैभन्दा ठूलो स्रोत रहेकोमा जोड दिनुभयो ।

म्याग्दीको प्रहरी प्रमुख समेत रहनुभएका नवआगन्तुक डिएसपी भारतीले नेपाल प्रहरीले सञ्चालन गरिरहेको समुदाय–प्रहरी–साझेदारी कार्यक्रमले समुदायमा हुने अपराधको नियन्त्रणमा मुख्य कार्य गरिरहेको बताउनुभयो । उहाँले लागूऔषध ओसारपोसार तथा नियन्त्रण गर्न र यस्ता कार्यमा संलग्न हुनेलाई रोक्न मुख्य कार्य परामर्श सेवा दिनुपर्ने बताउँदै नेपाल प्रहरी एक्लैले अपराध न्युनीकरण गर्न नसक्ने भएकाले समुदायमा क्रियाशील आम सरोकारवाला सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

आसन्न स्थानीय तहको निर्वाचनलाई धाँधलीरहित, विवादरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नुपर्ने सबैको दायित्व भएको बताउँदै डिएसपी भारतीले निर्वाचनमा सबैभन्दा ठूलो भूमिका राजनीतिक दलहरुको हुने बताउनुभयो । उहाँले चुनावपछि जिल्ला प्रहरी कार्यालयको तर्फदेखि समुदाय र विद्यालयस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र यसबाट समुदायमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा व्यक्त गर्नुभएको छ ।

सोही कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख समेत रहनुभएका नेकपा एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले निर्वाचनमा शान्तिपूर्ण वातावरण निर्माण गर्नुपर्ने बताउँदै चुनावको समयमा घट्न सक्ने विभिन्न क्रियाकलापलाई राजनीतिक दल, प्रहरी कार्यालय सबैले तिक्तता नरहने गरी टुङ्ग्याउनुपर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीका अध्यक्ष शेरबहादुर केसीले म्याग्दी जिल्लामा क्रियाशील राजनीतिक दलहरुको बीचमा आपसी सहकार्य र सहमति गरेर अगाडि बढ्ने परम्परा रहेको बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले निजी क्षेत्र सरोकारवाला निकाय सबैसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउँदै प्रहरीसँग पनि आवश्यक समन्वय गर्न तथा सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी वीरेन्द्रराज गुरुङले गर्नुभएको थियो ।

परिचयात्मक कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसन पार्टीका जिल्ला अध्यक्ष डेकबहादुर पुन (डिके) नेपाल पत्रकार महासंघको जिल्ला अध्यक्ष प्रकाश पौडेल, बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदी, म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम) लगायत जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Leave a Reply