प्रशासन,राजनीतिक दल र सचेत उपभोक्ताको पहुँचमा रहेका, प्रहरी र सम्वन्धित निकायको निगरानी रहिरहने शहरबजारमा खाद्यान्न,निर्माण सामाग्रीको मूल्य र मजदुर तथा कामदारको ज्यालामा मनलाग्दी हुने गरेका समाचार आइरहन्छन् ।

उपभोक्ताहरुका गुनासा सहितका समाचार बाहिर आएपछि स्थानीय प्रशासनले बजार अनुगमनको नाउँमा औपचारिकता त पुरा गर्छ तर कारबाही गरेको भने पाइँदैन । तर, म्याग्दीको एक गाउँमा भने गाउँलेहरु भेला भएर वर्षभरीका लागि खाद्यान्न र ज्यामी मजदुरको दरभाउ निर्धारण गर्ने र वर्षभरी सोही दरभाउमा खरिद विक्रि गर्ने गर्दछन् । यदी कसैले गाउँभेलाबाट पारित भएको नियम उल्लङ्घन गरेर आँफूखुसी मूल्य निर्धारण गरी खरिद विक्रि गर्छ भने गाउँलेहरुले कारबाही गर्ने गरेका छन् ।

उत्तरी म्याग्दीको रघुगंगा गाउँपलिका वडा नं ४ मा पर्ने दर्मिजा गाउँ परम्परा,रीतिरिवाज र स्थानीयको एकताका कारण व्यवस्थित गाउँको रुपमा परिचित छ । यही गाउँमा हरेक वर्षको माघेसंक्रान्तिका दिन गाउँलेहरुको भेलाले अर्को वर्षको माघेसंक्रान्ति सम्मका लागि गाउँमा उत्पादित खाद्यान्न,ढुवानी भाडा र ज्यामी मजदुरको ज्याला निर्धारण गर्ने गर्दछ । गाउँ भेलाले पास गरेको उक्त निर्णय विपरित गरेमा मनपरी गर्ने व्यक्तिलाई सामाजिक वहिष्कारसम्मको कारबाही हुनेगरेको रघुगंगा ४ का अगुवा तबहादुर शेरपुंजाले बताए ।

‘यस वर्षको माघे संक्रान्तिमा पनि गाउँलेहरुको भेलाले दरभाउ र ज्याला मजदुरी गर्नेको पारिश्रमिक निर्धारण गरेको छ’ वडा सदस्य समेत रहेका स्थानीय अगुवा धनबहादुर गर्वुजाले जानकारी दिए । वडासदस्य गर्बुजाका अनुसार अन्नबालीतर्फ मकै प्रतिपाथी रु १५०,कोदो र धान प्रति पाथी रु २००,जौ प्रतिपाथी रु १५०,गहुँ र उवा प्रतिपाथी रु २०० मूल्य निर्धारण गरिएको छ ।

यसैगरी भटमास प्रतिपाथी रु ४००,फापर प्रतिपाथी रु १५०,सिमी प्रतिपाथी रु ६००,आलु र पीडालु प्रतिपाथी रु १५०, बेसार प्रतिमाना रु १५० र रक्सी जम्बा बोतललाई रु १३० निर्धारण गरिएको छ ।त्यसैगरी सिपालु ज्याला प्रतिव्यक्ति रु ७००,हलगोरु ज्याला प्रतिदिनको रु १ हजार,साधारण खेताला ज्याला प्रतिदिनको रु ५००,इलेक्ट्रिसियन ज्याला प्रतिदिनको रु ८००,सिकर्मी ज्याला प्रतिव्यक्ति रु ८००,सिमेण्ट प्लाष्टर प्रतिव्यक्ति रु ८०० निर्धारण गरिएको छ ।

त्यस्तै राँगो शुल्क रु ८००,गोरु र बोका समारेको रु १००,लोकल मह र घिउ प्रतिमाना रु ६०० र दाउरा काट्ने खेतालाको ज्याला प्रतिदिनको रु ५०० निर्धारण गरिएको वडासदस्य गर्बुजाले जानकारी दिएका छन् । गाउँमा उत्पादन हुने र बाहिरबाट आयत गरिने सबै वस्तुमा एकरुपता कायम गर्न र उपभोक्ता तथा विक्रेताहरुको आपसी सम्वन्ध बलियो बनाउन यो चलन निकै प्रभावकारी हुने गरेको वडाअध्यक्ष रुकबहादुर गर्वुजाले बताए ।

Leave a Reply