आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिबेला राजनीतिक दलका नेताहरू चुनावी दौडधुपमा छन् । विभिन्न दलका नेताहरू आ–आफ्नो पार्टीको पक्षमा जनमत बलियो बनाउन दौडधुप सुरु गरेका हुन् ।

सत्ता गठबन्धनका दलहरू, नेकपा एमाले र अन्य दल आफ्नै किसिमले चुनावी अभियानमा लागेका छन् । एमालेले सत्ता गठबन्धनलाई समेत चुनौती दिँदै आएको छ । स्थानीय तहको चुनावी माहोल बनाउन एमाले,कांग्रेस र माओवादीका नेताहरू जिल्ला व्यापी रूपमा हिँडिरहेका छन् ।

नेकपा एमाले,नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका नेताहरू गाउँ–गाउँमा पसिसकेका छन् । तर,मतदाताहरुबाट भने नेता कार्यकर्ताहरुका भन्दा फरक विचार र अभिव्यक्तिहरु प्रकट हुन थालेका छन् । म्याग्दीका मतदाताहरुले परम्परावादी दल र तिनका उम्मेदवारहरुबाट खासै ठूलो परिवर्तनको अपेक्षा राख्न नसके पनि वैकल्पिक शक्तिको अभावमा तिनै दलहरुका खरावमध्येका कम खराव उम्मेदवारहरुलाई छानेर मत दिन वाध्य भएको बताउन थालेका छन् ।

म्याग्दीमा राजनीतिक दलहरुका सक्रिय सदस्य र कुनै एक दल विशेषको राजनीतिक आस्था राख्ने मतदाताको हाराहारीमा नै निष्कृय वा तटस्थ मतदाताहरुको पनि संख्या रहेको छ । यस हिसावले हेर्दा तटस्थ मतदाताहरुलाई आफ्नो प्रभावमा नपारीकन कुनै पनि राजनीतिक दलले यहाँ निर्वाचन जित्नसक्ने अवस्था छैन ।

यतिबेला बडो गज्जबको राजनीतिक परिदृश्य गाउँघरमा देखिन थालेको छ । एकले अर्कोलाई लल्कार्दै, दुत्कार्दै भेला, सभा गरिरहेका छन् । नेताहरूको यो परिदृश्य हेर्दा उनीहरूमा रहेको राजनीतिक संस्कार प्रष्टरुपमा देखिइरहेको सर्वसाधारण मतदाताहरुले नै वताएका छन् । एकले अर्कोलाई कटु अरोप, तीखो प्रहारमा व्यस्त राजनीतिक दलका नेताहरुका भाषण सुनिसकेपछि जनताले ‘तपाइँहरुले चैं के गर्नुभयो त ?’ भनेर प्रश्न गर्न थालेका छन् ।

जनतामा राजनीतिक चेत बढेको जिल्लाका बुद्धिजीविहरुले बताएका छन् । ‘उहिले राणा, शाह र पञ्चायतको पालामा जस्तो जनतालाई रैती ठान्ने दिन अव छैनन् । अबको चुनावमा मतदाता चनाखो बन्नुपर्ने आवश्यकता देखिएको छ । मतदान गर्नु सबैको आ–आफ्नो स्वतन्त्र अधिकार भए पनि आजका जनता धेरै चेतनशील भएका छन्। अब जनताले यो पार्टीमा र ऊ पार्टीमा कसैले भोट हाल भन्दैमा हाल्नेवाला छैनन् ।’ म्याग्दी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख समेत रहनुभएका कृष्णबहादुर थापाले बताए ।

सबै दलहरू आ–आफ्ना घोषणा पत्रका आधारमा दलीय चुनावी प्रतिस्पर्धा गर्ने आँट गर्नुपर्ने बेनी नगरपालिका २ का मतदाता पदमपाणी शर्माले बताए । उनले भने ‘सबै दलहरु आ–आफ्ना पहिचान र घोषणा पत्रका आधारमा दलीय प्रतिस्पर्धाबाट लड्ने र निर्वाचित हुने विकल्प प्रयोग गर्नु नै उपयुक्त हुन्छ ।’

नेपाली कांग्रेसमा आस्थावान म्याग्दीका मतदाताहरुले चुनावी गठवन्धनलाई खासै रुचाएको पाइएको छैन । ‘अघिल्लो चुनावमा गठबन्धन गरेर पछि एकै दल भएका एमाले माओवादीको हालत के भयो ? विचार र सिद्धान्तबिनाको एकता लामो समयसम्म टिक्दैन ।’ अर्जुन मावि भकुण्डेका भूतपूर्व प्रधानाध्यापक तथा नेपाली कांग्रेसबाट बेनी नगरपालिका २ का वडाअध्यक्षका प्रत्यासी टीकाबहादुर कार्कीले भने ।

म्याग्दीका दुई स्थानीय तहमा स्वतन्त्र उम्मेदवारका रुपमा दुई युवाले उम्मेदवारी घोषणा गरिसकेका छन् । बेनी नगरपालिकाको मेयरमा लामो समयसम्म विदेशमा अध्ययन गरेका बेनी नगरपालिका २ का नीराजन थापा र रघुगंगा गाउँपालिकाको प्रमुखमा स्थानीय सचेत युवा सागर भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् ।

उनीहरुले निर्वाचनमा कति मत ल्याउलान वा उनीहरुको विचारले कत्तिको प्रभाव पार्ला त्यो त निर्वाचन पछि नै प्रष्ट हुने छ । तर, परम्परावादी राजनीतिक दल,उनीहरुको कार्यशैली,स्थानीय सरकारको दायित्व र मर्यादा,वर्तमान समयको आवश्यकता,आफू निर्वाचित भएपछि गर्ने कामहरुको फेहरिस्त लगाएत यी विषयमा उनीहरुले व्यक्त गरेका लिखित विचारहरुले भने जनतालाई अन्य राजनीतिक दलहरुसंग प्रश्न गर्न निकै सजिलो बनाइदिएको छ ।

अन्य राजनीतिक दलहरुले पनि उम्मेदवार छनोटलाई तिब्रता दिएका छन् । विगतका निर्वाचनहरुमा भन्दा यस पटकको निर्वाचनमा उम्मेदवारका आकाँक्षीहरु धेरै देखिएकाले दलका नेताहरुलाई कार्यकर्ताहरुको चित्त बुझाएर निर्वाधरुपमा उम्मेदवार चयन गर्न निकै सकस हुने राजनीतिक विश्लेषकहरुको भनाइरहेको छ ।

नेपाली कांग्रेसका सभापति र नेकपा माओवादी केन्द्रका अध्यक्ष बाहेक अरु प्रायः राजनीतिक दलका जिल्ला नेतृत्वहरुको बसोबास रहेको बेनी नगरपालिकाको निर्वाचनलाई सबै राजनीतिक दलहरुले आआफ्नो अस्तित्वको लडाइँका रुपमा लिने गरेका छन् । बेनी नगरपालिको मेयरका लागि नेपाली कांग्रेसबाट ७ जना नेताहरुले उम्मेदवारको दावी गरेका छन् भने नेकपा एमालेबाट पाँच जनाको दावी रहेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रबाट अहिलेसम्म तीनजनाको दावी देखिएको छ ।त्यसैगरी अन्य पाँचवटा गाउँपालिकाहरुमा पनि उम्मेदवारका आकांक्षीहरुको संख्या विगतका निर्वाचनमा भन्दा बढी रहेको स्थानीय तहका नेताहरुले बताएका छन् ।

 

Leave a Reply