म्याग्दीमा टाईफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी सुरु भएको छ । यसैक्रममा आज (आईतवार) बेनी नगरपालिकाको आयोजनामा टाईफाइड खोप अभियान सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विषयमा सरोकारवालाहरुलाई अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले प्रकोप नियन्त्रण, निवारण र उन्मुलनका लागि विभिन्न रोगहरुको विरुद्धमा खोप अभियान सञ्चालन हुने गरेको बताउनुभयो । उहाँले अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीहरुमा चौथो कारण टाईफाइड देखिएको बताउँदै देशैभर यही चैत २५ गतेदेखि आगामी वैशाख १८ गतेसम्म टाईफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने बताउनुभयो ।

आसन्न स्थानीय निर्वाचनको तयारी, विद्यालय उमेर समूहका बालबालिकाहरुको वार्षिक परीक्षालगायत विभिन्न कारणले गर्दा म्याग्दी जिल्लामा भने चैत २५ गतेदेखि ३० गतेसम्म टाईफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी थालिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले जानकारी दिनुभयो । खोप अभियानका लागि म्याग्दी जिल्लामा २८ हजार बालबालिकाहरु रहेकोमा बेनी नगरपालिका क्षेत्रमा मात्रै ११ हजार बालबालिकाहरु रहेको जनाइएको छ । सरसफाई तथा पिउने पानी सुरक्षित भएमा संक्रामकजन्य रोगहरुको संक्रमणबाट बच्न सकिने निमित्त प्रमुख लम्सालले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले खोप अभियानले टाईफाइडको संक्रमणलाई नियन्त्रण गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले आउँदो २५ गतेदेखि सञ्चालन हुने टाईफाइड विरुद्धको खोप अभियान प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि बेनी नगरपालिकाको तर्फबाट आवश्यक सक्दो सहयोग र पहल हुने बताउँदै खोप अभियान सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले विभिन्न किसिमका संक्रामकजन्य रोगहरुको रोकथाम तथा नियन्त्रण गर्नका लागि नगरपालिका लागिपरेको बताउनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न समुदायमा रहेका सरोकारवाला सबैलाई परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खोप अभियानलाई सबै पक्षसँग समन्वय गरेर अगाडि बढाउनुपर्ने भन्दै स्थानीय प्रशासनको तर्फदेखि आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका वडानम्बर ७ बेनीका वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । बेनी नगरपालिकाको स्वास्थ्य संयोजक लिला गौतमले स्वागतसहित खोप अभियानबारे प्रकाश पारेको कार्यक्रमको सहसंयोजक डिल्लीराज आचार्यले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतले सहभागिता जनाएका थिए ।

टाईफाइडविरुद्ध खोप अभियान चलाउन स्वास्थ्यचौकी र विद्यालयमा खोप केन्द्र सञ्चालन गरिनेछ भने स्वास्थ्यकर्मीले खोप लगाउने तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र शिक्षकहरुले सहयोग गर्नेछन् ।

Leave a Reply