म्याग्देली महिलाहरुको राजनीतिमा सहभागिता बढ्दै गएपनि उपल्लो तहका पदहरुमा भने पुरुषहरुकै वर्चश्व कायम रहेको छ । जिल्लाको धवलागिरि गाउँपालिकामा बाहेक अन्य पाँचवटा स्थानीय तहका प्रमुखमा पुरुष र उपप्रमुखमा मात्र महिलालाई खुम्च्याइएकोमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महिलाहरुले प्रमुख पद पाउनुपर्ने दावि गर्दै आएका छन् ।

म्याग्दीमा सक्रिय ठूला राजनीतिक दलका नेतृत्व तहमा महिलाको संख्या पर्याप्त नहुँदा नीति निर्माणको तहमा महिलाहरुका मुद्धा उठान गर्न नसिकएको र समतामूलक समाज निर्माणमा पनि समस्या देखिएको महिला अधिकारकर्मीहरुको भनाइरहेको छ ।

राजनीतिमा महिला सहभागिता बढ्दै गए पनि मूल नेतृत्वमा महिलाहरूको सहभागिता कलस्टरमा मात्रै सीमित रहने गरेकोले आसातित परिणाम दिन नसकिएको रघुगंगा गाउँपालिकाका उपप्रमुख कमला तिलिजाले बताउनुभयो ।
म्याग्दीको मालिका गाउँपालिका– ५ की वडा अध्यक्ष पिपला बूढा जिल्लाका ४५ वटै वडामध्ये एक्ली महिला वडा अध्यक्ष हुनुहुन्छ । कोटा निर्धारण भएअनुसार नै महिलाहरूलाई ठाउँ दिइने गरेको नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित बूढाले बताउनुभयो ।

त्यसैगरी मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमाया बिटालु खारिएकी राजनीतिक नेतृतमा पर्नुहुन्छ । उहाँले भन्नुभयो, “म गाउँपालिका अध्यक्षमा उठ्ने सोच बनाएकी छु, पार्टीले न्याय गर्छ भन्ने विश्वासमा छु ।”

पछिल्लो समय म्याग्दीको राजनीतिमा महिलाहरुको प्रभाव बढ्दै गएको छ । संघ सरकारमा महिला तथा बालबालिका मन्त्री भैसक्नु भएकी थममाया थापा, गण्डकी प्रदेश सरकारमा सामाजिक विकास मन्त्री हुनुभएकी नरदेवी पुन, धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन, नेपाली कांग्रेसकी नेतृ विमला गौचन,बिना खड्गा,अमृतदेवी बानियाँ,मनकुमारी विसी,बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवाल लगाएतका राजनीतिक महिलाहरुको जिल्लामा राम्रो प्रभाव रहेको भएता पनि अन्य महिलाहरु भने अवसरको अभावमा तल्लो तहमा मात्रै सीमित रहन बाध्य भएका छन् ।

उसो त २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमाया बिटालु,मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, नेपाली कांगं्रेसबाट उपाध्यक्षमा निर्वाचित रघुगंगा गाउँपालिकाकी कमला तिलिजा र अन्नपूर्ण गाउँपालिकाकी केशमाया मगर र राप्रपाबाट बेनी नगरपालिकाको उपप्रमुखमा निर्वाचित सञ्जु बरुवालको राजनीति प्रभाव र कार्यशैली सन्तोषजनक देखिए पनि दलहरुले भने प्रमुखमा हत्तपत्त विश्वास गरिहाल्ने मनसाय भने देखिदैन ।

जिल्लाको मालिका गाउँपालिकाकी उपप्रमुख खरमाया बिटालु आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुखको दाबेदार रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पार्टीभित्र गाउँपालिका प्रमुखको टिकट ल्याउन संघर्ष जारी छ । पाँच वर्ष उप्रमुखको हैसियतमा काम गरेँ, अब प्रमुखको लागि दाबी हो ।”

बिटालुले नेकपा एमालेबाट चुनाव जित्नुभएको हो । महिलाको क्षेत्रमा नमुनायोग्य काम गरेको बताउँदै बिटालुले आफू प्रमुखमा पनि अब्बल उम्मेदवारको रूपमा रहेको बताउनुहुन्छ । महिलाहरूको अधिकार स्थापित गर्नका लागि महिलाहरूको नेतृत्व आवश्यक छ भन्नेकुरा यहाँका महिला मतदाताहरुले बुझिसकेको उहाँको भनाइ छ । “पार्टीले २०७४ मा टिकट दिएको हो, अहिले मेयरमा दाबी गर्दै आएकी छु ।”

त्यसैगरी अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष केशमाया मगरले पनि आफू अध्यक्षको उम्मेदवार रहेको दाबी गर्नुहुन्छ । कांग्रेसबाट निर्वाचित मगर भन्नुहुन्छ, “उपाध्यक्ष भएर काम गर्दा नेतृत्वमा महिला नभएर धेरै समस्या खेप्नुप¥यो, महिलाको लागि कार्यक्रमहरू ल्याउन पनि सकस भयो । त्यसैले आफूले अध्यक्षको लागि पार्टीमा कुरा उठाउँदै आएकी छु ।”

म्याग्दीमा पुरुषको तुलनामा महिलामतदाताहरुको संख्या बढी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार म्याग्दीमा आगामी चुनावमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी मतदाता कायम भएको छ । जिल्लाको ६ वटै स्थानीय तह र ४५ वटा वडामा जनप्रतिनिधि चुन्नका लागि मतदान गर्न ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदानमा महिलाहरू नै निर्णायक हुने भएकाले महिलाहरूलाई नेतृत्व दिनुपर्नेमा सरोकारवाला निकायको जोड छ । विभेदकारी सोच भएको समाजलाई समतामूलक बनाउनको लागि स्थानीय तहहरूमा महिला नेतृत्व आवश्यक भइसकेको छ नेपाली कांग्रेस म्याग्दीकी नेतृ बिमला गौचनले बताउनुभयो । उहाँले भन्नुभयो “पार्टीमा महिलाहरूको योगदान पनि उत्तिकै हुन्छ ।

महिलालाई नेतृत्वका लागि टिकट दिन कन्जुस्याइँ गरिनु हुँदैन ।”समावेशिताका हिसाबले महिलाहरूलाई ठाउँ दिइँदै आएकाले मुख्य जिम्मेवारी प्रदान गर्न पार्टीले निर्णय गर्ने नेपाली कांग्रेस म्याग्दीका उपसभापति के वि भण्डारीले बताउनुभयो।

यता, नेकपा एमालेले पनि संविधानले अधिकारको प्रत्याभूत गरेको हुनाले महिलाहरूलाई पनि अवसर दिने बताएको छ । “मुख्य पदमै भन्ने छैन, महिलाहरूलाई छुटाइँदैन,”नेकपा एमाले म्याग्दीका एक नेताले भन्नुभयो ।म्याग्दीको स्थानीय तहको चुनावमा महिलाहरू नै निर्णायक रहेको आँकलन गरिएको छ । कामको सिलसिलामा पुरुषहरू बाहिर रहेको हुनाले मतदान गर्ने महिलाहरूको सहभागतिा बढी हुने गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा महिलाको राजनीतिक समावेशीकरणको अनुसन्धान विषयक संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को रिपोर्टमा मेयर, वडाध्यक्ष जस्ता प्रमुख पदमा दुई प्रतिशत मात्रै महिला प्रतिनिधित्व भएको देखाएको छ । तर वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भने नेतृत्व तहमा नै महिलाहरुको दाबी बढीहुने देखिएको छ ।

Leave a Reply