म्याग्दी सदरमुकाम बेनीमा हुने नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । चैत २५ र २६ गते बेनीमा हुने छन्त्याल संघको महाधिवेशनको गृहमन्त्री बालकृष्ण खाँडले उद्घाटन गर्ने कार्यक्रम तय भएको महाधिवेशन मुल आयोजक समितिका संयोजक एवम् संघका केन्द्रीय अध्यक्ष मोहन छन्त्यालले बताउनुभयो।

‘हामी तयारीको अन्तिम चरणमा छौ,‘प्रतिनिधिहरू महाधिवेशनको अघिल्लो दिनमै बेनीमा आइपुग्नुहुन्छ’ अध्यक्ष छन्त्यालले भन्नुभयो । महाधिवेशनको प्रचारप्रसारलाई समेत तिब्रता दिइएको छ । महाविधेशनको उद्घाटन अगाडी बेनीबजारमा सांस्कृतिक झाँकीसहित बजार परिक्रममा गरिने छ । विभिन्न ११ जिल्लाबाट आउने ३ सय ७० प्रतिनिधिले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छन्त्याल विद्यार्थी संघका केन्द्रीय सदस्य अमर छन्त्यालले जानकारी दिनुभयो।

छन्त्याल जातिको आफ्नो छुट्टै मौलिक संस्कृति, भाषा, धर्म, परम्परा, चालचलन, रीतिरिवाज, जीवनपद्धति र प्रथा रहेकाले प्राचिनकालको महत्वका बारेमा नयाँ पुस्तालाई जानकारी गराउने गरी थप नयाँ योजना बनाउने समेत संघले जनाएको छ । छन्त्याल जातिमा १२ थरहरू रहेका छन्ःखड्का, घर्ती, घरब्जा, घ्याप्चन, झिङ्राजा, डाँडामारे, तथप्जा, पुराने, पोत्लाङ्गे, बुढाथोकी, भलञ्जा र सिङ्ग रहेका छन्।

‘अस्थित्व, मौलिक पहिचान र अधिकारको लागि हाम्रो आन्दोलन।’ ऐतिहासिक छन्त्याल स्वायत्त क्षेत्रको पक्षमा सातौ राष्ट्रिय महाधिवेशन भन्ने मुल नाराका साथ आयोजित महाधिवेशन सफलताका लागि आर्थिक, भौतिक र नैतिक सहयोगका लागि समेत अपिल गरिएको छ। छन्त्याल भाषा भोट–बर्मेली परिवारमा पर्दछ। बागलुङ र म्याग्दी जिल्लाका क्षेत्र÷इलाकाहरू मूल थातथलो भएता पनि सन् २०११ को जनगणनाअनुसार छन्त्यालहरू ४३ जिल्लाहरूमा रहेको देखिन्छ।

Adv

Leave a Reply