म्याग्दीमा पाँच वटा राजनितिक दलहरुले जिल्लाका ६ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । विहिबार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को संयोजकत्वमा कांग्रेस पार्टी कार्यालय बेनीमा बसेको पाँच दलको बैठकले आगामी ३० बैशाखमा हुने निर्वाचनमा सबै स्थानीय तहमा साझा उम्मेद्धार बनाएर जाने सहमति गरेका हुन् ।
वडा तहबाट आएको रिपोर्टको आधारमा साझा उम्मेद्धारको टुंगो लाग्ने कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।

‘अर्को बैठकमा छिनाफानो हुन्छ, सबैले वडा तहसम्म नै तालमेल गर्नेमा सकारात्मक संकेत दिनु्भएको छ’ सचिव पुनले भन्नुभयो । म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्न जिल्ला र पालिका स्तरीय संयन्त्र समेत निर्माण गरेका छन् ।बैठकमा माओवादी केन्द्रबाट जिल्ला संयोजक रेशम जुग्जाली,नेकपा एकिकृत समाजवादीबाट जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा,राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष छबि विश्वकर्मा र जनता समाजवादीबाट देबेन्द्रबहादुर विश्वकर्मा सहभागि हुनुहुन्थ्यो ।

केन्द्रदेखि पार्टीको जिल्ला तहसम्म गठबन्धन गरेर निर्वाचनमा जाने एकखाले समझदारी बने पनि पालिकास्तरमा तयारी भएको छैन् । गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र माओवादी केन्द्रले मालिका गाउँपालिका दावी गरेकाले समेत दुबैपक्षमा असन्तुष्टि व्यक्त हुने गरेको छ । जिल्लामा २०७४ को निर्वाचनमा जिसस उपप्रमुख सहित एक नगर प्रमुख र तीन गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष तथा ४५ वटा वडा मध्ये १५ वटा वडा अध्यक्षमा कांग्रेस विजयी भएको थियो । माओवादी केन्द्रले ५ वटा वडा अध्यक्ष जितेको थियो ।

त्यस्तै नेकपा एमालेले जिल्ला समन्वय समितिको प्रमुख सहित दुई गाउँपालिका अध्यक्ष ,तीन गाउँपालिका उपाध्यक्ष र २३ वटा वडा अध्यक्षमा विजयी भएको थियो । दुई वटा वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्धार विजयी भएका थिए । भने बेनी नगरको उपप्रमुख राप्रपाले जितेको थियो । सत्ता गठबन्धनको तयारीले यता नेकपा एमाले समेत झस्किएको छ । एमाले र माओवादीका नेताहरुको समेत अनौपचारिक छलफल भएको स्रोतले जनाएको छ । माओवादीले कांग्रेससँग सम्मानजक तालमेल नभए एमाले रोज्ने र एमालेसँग पनि काँग्रेसलाई मागेको पालिका मागेकाले एमालेभित्रका उम्मेदवारको लाइनमा रहेका र कार्यकर्ताले पार्टीभित्र विरोध गरिरहेका छन् ।

Leave a Reply