स्थानीय तहको निर्वाचन नजिकिएसँगै म्याग्दीका राजनीतिक दलका नेताहरू मतदाता रिझाउन मतदाताको ढोकामा पुगेका छन् । कुनैपनि दलले प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो नलगाएपनि आफ्नो पक्षमा माहोल बनाउन गरिएको प्रयासले चुनावी सरगर्मी निकै तातेको छ ।

आ–आफ्नो जित सुनिश्चत बनाउन घरदैलो अभियानमा भएका पार्टीका नेता–कार्यकर्ताहरूको हातमा पार्टीको झण्डा भएपनि अहिलेसम्म चुनावी घोषणा पत्र समेत मतदातालाई वितरण गर्न नसकेपनि चुनावमय बन्दै गएको छ। आगामी एक महिना यो क्रम अझै बढ्नेछ ।

तीन ठूला दलका जिल्लास्तरीय नेताहरू गाउँ दौडाहामा छन् । चुनावी अभियानमा स्थानीयभन्दा पनि राष्ट्रिय एजेन्डा समेटेको देखिन्छ भने साना दलहरू विस्तारै आफ्नो अभियानलाई सुरू गरेका छन् । प्रायः सबै राजनीतिक दलहरु चुनावलाई लक्षित गर्दै पार्टीको संगठन विस्तार गरिरहेका छन् ।

बि.स २०७४ सालामा पहिलो पटक भएको स्थानीय तहको निर्वाचन, करिब एकबर्षपछिको प्रतिनिधि र प्रदेश सभापछि मतदातामाझ बिरलै पुगेका दलीय नेताले करिब ५ बर्षपछि आफ्नो पक्षमा मतदाताहरूलाई प्रभाव पार्ने खालका प्रचार शैली अपनाउन थालेका छन् । स्थानीय तहमा अहिले अधिकांस पुरानाले आफुँलाई निरन्तरता दिन खोजिरहेका छन् भने नयाँ उम्मेदवारको चर्चाले माहोल तातेको छ ।

पाँच वर्षमा आवधिक निर्वाचन हुनु आवश्यक भएकाले सरकारले आगामी वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि चुनावी प्रचार अभियानलाई गाउँ—गाउँ र विभिन्न भातृ तथा शुभेच्छुक संगठन परिचालन समिति गठन गरी चुनावी प्रचारलाई तीव्रता दिएसँर्गै उम्मेदवारको चर्चा समेत चल्न थालेको छ । यसपटक जिल्लामा वामप्रजातान्त्रिक गठबन्धनको चर्चा चलेपनि टुंगो लागेको छैन् ।

जिल्लामा मुख्य गरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीचनै प्रतिस्पर्धा हुन्छ । अहिले राजनीतिक दलहरु यति चलायमान भएका छन् कि पाँच वर्षभित्र गर्न नसकेको प्रचार–प्रसार एक महिनामै सक्न लागिपरेका छन् । विकासको दृष्टिकोण पछाडि परेको क्षेत्रमा समेत ढाँटछल गरेर भोट लिने र आफ्नो र आफ्नो दलको स्वार्थमात्र पूरा गर्ने नेताहरु अझै सुध्रिएका छैनन् ।

दलहरुमा जसरी पनि स्थानीय सत्तामा पुग्ने रणनीति हाबी भएको देखिन्छ । पाँच बर्षको अवधिमा स्थानीय तहमा देखिने केही प्रयास भएपनि जिल्लाले देशभर देखाउन सक्ने पूर्वाधार सहितका गतिविधिमा भने सरकार चुकेको छ ।अबको स्थानीय तहमा जसरी आफ्नो पक्षमा मत पार्नलाई अहिलेदेखि योजना बुनिरहेका दल र नेताहरुको मतदाताहरुले मूल्यांकन गर्नुपर्छ । कुन दललाई मतदान गरेर के प्राप्त हुन्छ भन्ने मतदाताले अव चासो देखाउनुपर्छ । मतदाताको एक दिनको गल्तीले पाँच वर्ष पछुताउनु पर्छ ।

जनप्रतिनिधि र उनीहरु आवद्ध रहेको पार्टीको गलत नितिलाई जनताले यसको सजाय दिने यहि एक दिन हो– मतदान नै भएकाले अनावश्यक गालीगलोजमा भन्दा पनि एजेण्डा लिएर जनता समक्ष भोट माग्ने उम्मेदवारलाई नै जिताउनुपर्छ । आर्थिक प्रलोभनलाई पन्छाउँदै मतदाताले विवेक प्रयोग गर्ने दिशातर्फ ध्यान दिनु आवश्यक छ । बेनी साप्ताहिक समाचारपत्रबाट साभार

Leave a Reply