एउटा उखान निकै प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन।’ यो उखानबाट नै स्पष्ट हुन्छ गुर्जाको अवस्था, विवशता र बाध्यता। म्याग्दीको सदरमुकाम बेनीबाट करिव २६ कोष टाढा रहेको जिल्लाकै सबैभन्दा दुर्गम धवलागिरी गाउँपालिका–१,गूर्जामा शुक्रबार हेलिकप्टरमा पुगेका गृहमन्त्री बालकृष्ण खाँणले गाउँको अवस्था देखेर आश्चार्यचकित भए।

समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा भौगोलिक रूपमा विकट, विकासका दृष्टिले निकै पछाडी, हिमालको काखैमा अवस्थित गूर्जाबासीको अवस्थाका बारेमा करिब एक घण्टाको बसाईमा धेरै जानकारी लिए। जिल्लाको नक्सामा लुकेको बस्तीको रुपमा चिनिने गुर्जाबासीले गृहमन्त्री खाँणलाई लालपूर्जाविहीन अवस्था,शिक्षा, स्वास्थ्य, विकास निर्माणका साथै आफ्ना दर्जनौ समस्याहरू खुलेर सुनाए।

हेलिप्याडबाट गाउँसम्म पुगेका खाँणलाई म्याग्दीको सुगम क्षेत्रका बस्तीले मात्रै प्राथमिकता पाएको भन्दै गुर्जालाई उपेक्षा गरिएको गुनासो गरेका थिए। ‘चार महिना हिउँभित्र बस्नुपर्छ, मोटर हेर्न झण्डै एकदिनको यात्रा गर्नुपर्छ,’ स्थानीयले गृहमन्त्री खाँणलाई भने।

पहिलोपटक गृहमन्त्री नै गाउँमा आएपछि उत्साहित भएका स्थानीयले दुर्गम र सुगमका योजनामा समान बजेट हुने भएकाले ढुवानीमै सकिने गरेको बताएका थिए। ‘पिछडिएको क्षेत्रलाई सधै बेवास्ता गरिएको छ, दुगर्म नाम मात्रैको हो, सुविधा केही छैन,’ स्थानीय केआईसिङ छन्त्यालले भने। स्थानीयले दर्जनौ गुनासो सुनाएपछि गृहमन्त्री खाँणले तत्कालै स्थानीयकै उपस्थितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेललाई फोन गरेर सुनाए।

उनले उपाध्यक्ष डा. पौडेललाई विकास निर्माणसहित अन्य प्राथमिकतामा दुर्गम क्षेत्रलाई सुगम सरह हेरिनु यायोचित नभएकाले  सडक सञ्जालले नछोएको वडा र गाउँलाई अति दुर्गम स्थानका रूपमा परिभाषित गरी विकास निर्माणसहित दुर्गम भत्तामा सतप्रतिशत सुविधा दिने गरी आगामी बजेटमा प्राथमकिता दिन समेत अनुरोध गरेका छन्।

‘यहाँको अवस्थामा बारेमा फर्किएपछि मन्त्रिपरिषद्, योजना आयोगसँग कुरा गर्छु, दुर्गमलाई नै सुगम बनाउने अभियानमा अव योजना आयोगले प्राथमिकता दिनुपर्छ,’ गृहमन्त्री खाँणले भने। उनले प्रकृति अनुपम सुन्दरता र सम्पदा खन्याईदिएको भएपनि स्थानीयले धेरै किसिमका दुःख, कष्टको सामना गर्नुपरेको बताउँदै आफ्नो सक्रियतामा केही परिवर्तन गर्ने बताए।

गृहमन्त्री खाँणले अति विकट बस्तीमा बसेर जन्मभूमीको रक्षा गरेको भन्दै गुर्जाबासीलाई धन्यवाद समेत दिए। स्थानीय अगुवा दीपप्रसाद छन्त्यालले गृहमन्त्रीलाई गाउँको समस्याको भारी बोकाएर पठाएको बताए। उनले पर्यटन, हिमाल आरोहणसहित अन्य योजनाहरूमा समेत सरकारबाट प्राथमिकता दिन, पर्यटन मन्त्रालयलाई निर्देशन दिन समेत माग गरिएको बताए।

तत्कालै आवश्यक योजनासहित आगामी बजेटमा प्राथमिकतामा पर्नेमा आशाबादी रहेको बताए। जिल्लामा प्रत्येक वडामा मोटरबाटो, विद्युत र बैंकिङ सेवा लगायतका सुविधा भएपनि दुर्गम क्षेत्रका बासिन्दाले सधै अभावै अभावमा बस्नुपर्ने बाध्यता रहेकाले गृहमन्त्रीलाई जिल्ला आएको बेलामा मौका छोपेर गुर्जाको अवस्था देखाउन लगिएको थियो। म्याग्दी हिमाली जिल्लामा सूचीकृत भएपनि हालसम्म अन्य हिमाली जिल्ला सहर सुविधा प्राप्त गर्न सकेको छैन।

Leave a Reply