नयाँ वर्ष २०७९ सालको वैशाख पहिलो साता धौलागिरिको तीनवटा जिल्लाको पाँच ठाउँमा एकैपटक महायज्ञ हुने भएको छ। अनन्तश्री विभूूषित मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनचार्यको सङ्कल्पमा एकैपटक म्याग्दी, बागलुङ र पर्वतको पाँच स्थानमा पञ्चश्री महायज्ञ आयोजना गरिएको हो ।

आज (शुक्रबार) म्याग्दी सदरमुकाम बेनीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी महायज्ञको बारेमा आवश्यक जानकारी गराइएको छ । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पञ्चश्री महायज्ञ मूल आयोजक समितिका प्रवक्ता समेत रहनुभएका सुदर्शन शास्त्रीले मानव जीवनमा आध्यात्मिक शान्ति प्राप्तिका लागि महायज्ञ आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रवक्ता शास्त्रीले विश्वमै शालिग्राम पाइने एकमात्र कालीगण्डकी नदीको सभ्यता बुझाउनका लागि आयोजना गरिएको महायज्ञ विशेष हुने बताउँदै महायज्ञमार्फत पछिल्लो समय विश्वभर बढ्दै गैरहेको जलवायु परिवर्तनको असरलाई धार्मिक अनुष्ठानको कार्यक्रममार्फत कम गर्ने समेत उद्देश्य राखिएको बताउनुभयो । उहाँले घर, परिवार, आफन्तजन तथा राष्ट्रको सुख, शान्ति र समृद्धिका लागि पनि महायज्ञले सघाउने जनाइएको छ ।

पञ्चश्री महायज्ञ म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटको गौश्वारा, १० नम्बर वडा पात्लेखेतको वाखेतस्थित सिद्धभूमि, बागलुङको रारायीकोट, मालिका भगवती तथा गौशाला र पर्वतको जलजला गाउँपालिकाको हम्पालस्थित मृगसरोवर कालाञ्जर पर्वत क्षेत्रमा सञ्चालन गरिनेछ । पाँचवटै स्थानमा ११ जनाका दरले विद्धान आचार्यहरुको नेतृत्वमा यज्ञ सञ्चालन हुनेछ ।

पत्रकार भेटघाट कार्यक्रममार्फत एउटै तिथि, मिति, मुर्हुत, एउटै विधि र पद्धतिद्वारा सञ्चालन हुने उक्त पञ्चश्री महायज्ञमा उपस्थित भई ज्ञान प्राप्त गर्न आग्रह गरिएको छ भने आर्थिक सङ्कलनभन्दा पनि आध्यात्मिक चिन्तनलाई बढी जोड दिइने बताइएको छ ।

Leave a Reply