---Advertisement---

भगवतीमा स्वतन्त्रबाट वडा अध्यक्षमा उठ्दै रञ्जना श्रेष्ठ

On: April 10, 2022 10:08 AM
Follow Us:

स्थानीय तह निर्वाचनको सरगर्मी बढिरहेका बेला म्याग्दीमा धमाधम स्वतन्त्रका उम्मेदवारी घोषणा भइरहेको छ । जिल्लाको रघुगंगा गाउँपालिका–२, भगवतीमा स्वतन्त्रको तर्फबाट बालबालिकाको क्षेत्रमा सक्रिय बाल अभियान्ता रञ्जना श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसमा ब्यवस्थापन संकायमा अध्ययनरत श्रेष्ठले दलिय खिचातानीले गाउँको विकास असम्भव भएकाले जनताको काम गर्न वडा अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो ।‘अब निस्वार्थ जनताको काम गर्ने जनप्रतिनिधि चाहिएको छ,‘मैले मेरो उम्मेदवारी सहित मैदानमा धेरै काम गर्न सक्छु’ श्रेष्ठले भन्नुभयो ।आफ्नो वडामा ५ बर्षमा हुनुपर्ने विकासका योजनाको आवश्यकता सहित सतप्रतिशत निशुल्क शिक्षा सहित वडामा विनियोजित बजेटका बारेमा सबै जनतालाई जानकारी दिने, उपभोक्ता समितिलाई गुपचुप नभई सार्वजनिक स्थानबाट छनौट गरिने जस्ता धेरै योजनाहरु भएकाले उम्मेदवारी दिएको श्रेष्ठको भनाई छ ।

‘जनताको सपना पुरा गर्न दलको खोलबाट मात्रै जनप्रतिनिधि बन्नुपर्छ भन्ने छैन्,‘मैले देखेको सम्भावना मैले नै नेतृत्व गरी जनतालाई दिन चाहन्छु’ श्रेष्ठले भन्नुभयो । हिंसा प्रभावित, संगम म्याग्दीबाट विभिन्न काम गरिरहनुभएकी श्रेष्ठले वडाभित्र शिक्षा, स्वास्थ्य निशुल्क तथा अन्य जनताका आधारभुत आवश्यकतामा बजेटलाई प्राथमिकता दिने बताउनुभयो ।

दलिय प्रतिस्पर्धाका बिचमा यसपटक पालिका अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्षमा समेत उम्मेदवारी घोषणा हुन थालेपछि जिल्लामा माहोल बढेको छ । पार्टी कार्यकर्ताहरुलाई समेत स्वतन्त्रका उम्मेदवारको प्रतिबद्धता पत्रले आर्कषित गरेको छ ।

 

जेनिशा पुरी

जेनिशा पुरी बेनीअनलाइन संवाददाता हुन