म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा निर्मित टहरामा अचानक आगलागी भयो । किराना पसल, आसपासमा गफमा ब्यस्त भएकाहरु आगलागी पछि सुरक्षित स्थानतर्फ भाग्न थाले । विना सावधानी आगो निभाउन खोज्दा दुई जना घाईते भए । आगलागीबाट बालबालिका, महिला आत्तिए, उद्धारका लागी गुहार माग्दै चिच्चाउन थाले । म्याग्दी र कालिगण्डकीको संगमस्थल खुल्लामञ्चमा ‘हेर्दाहेर्दै आगोको मुस्लो आयो ।

केही बेरमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली अग्नी नियन्त्रणका लागि आवश्यक उपकरण सहित घटनास्थलमा आइपुगेपछि आगो नियन्त्रणमा आयो र घाईते र घरबास विहिन भएकालाई सुरक्षित स्थानमा रहेको प्राथमिक उपचार केन्द्रमा लगियो ।

झट्ट सुन्दा घटनास्थलको अवस्था कुनै बस्तीमा आगलागी हुदाँको अवस्थालाई कल्पना गरिएपनि यो जिल्ला प्रशासन कार्यालय म्याग्दीले प्रकोप पुर्व तयारी अभ्यासको हो ।

जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा नेपाली सेना शसस्त्र र प्रहरी सहितको टोलीले कृत्रिम आगो लगाएर स्याउला, घरमा भएको पानी र दमकलसम्मको प्रयोग गरेर सेनाले आगो नियन्त्रणमा लिन सकिने विभिन्न उपायका बारेमा नमुना अभ्यास गरेको थियो ।

जिल्लामा आगलागीबाट मानवीय क्षती हुने क्रम बढ्न थालेपछि बस्ती, समुदाय र सार्वजनिक स्थानमा हुने आगलागी, घरमा खाना पकाउँदा ग्यासमा सल्किएको आगो नियन्त्रणमा आवश्यक सतर्कताका बारेमा अभ्यास गरिएको थियो ।

अभ्यासमा नेपाली सेनाले विद्यार्थीलाई घरमा आगो लाग्दा, विद्युत सर्ट भएर आगो लाग्दा र पेट्रोलियम पदार्थ वा रसायनिक पदार्थका कारण आगलागी हुँदा कसरी नियन्त्रण गर्ने भन्ने सेनाले अभ्यासमा देखाएको थियो । जनप्रतिनिधि, रेडक्रसकर्मी, जिल्ला सुरक्षा समितिका प्रमुखहरु, सामाजिक संघ संस्थाका प्रतिनिधि, म्याग्दी बहुमुखी क्याम्पस सहित सदरमुकाम बेनीमा अवस्थित विद्यालयका विद्यार्थी अभ्यासको अवलोकनमा सहभागी थिए ।

सोही अवसरमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो पालिकाभित्रका हरेक वडामा उक्त अभ्यासको आवश्यकता रहेको बताउनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले म्याग्दीमा यसबर्ष आगलागीबाट दुई जनाको ज्यान गइसकेको तथा अन्य प्रकोपमा परेर समेत मृत्यु भएका घटनालाई मध्यनजर गरी अभ्यास गरिएको बताउनुभयो ।

उहाँले विपद् ब्यवस्थापन समितिले स्थानीय तहसँग सहकार्य गरी पालिकास्तरमा समेत नमुना अभ्यास गर्न सकिने बताउनुभयो । बेनी नगरपालिकामा मेयर हरिकुमार श्रेष्ठ सहित जनप्रतिनिधिको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन सहायक प्रजिअ अर्जुन शर्माले गर्नुभएको थियो ।

Leave a Reply