नेकपा एमालेले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेदवार छनौट गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा सोमबार बसेको गाउँपालिका कमिटीको बैठकले अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको जिल्ला सल्लाकार परिषद्का सदस्य नारायण पुनले जानकारी दिनुभयो ।

अध्यक्षका उम्मेदवार पुन अन्नपूर्ण–७,औल निवासी हुनुहुन्छ ।शिक्षण क्षेत्रमा अनुभवी तथा प्रशिक्षकको अनुभव रहेको छ । माविका प्रअ, गाउँपालिकाको स्रोत शिक्षक सहितको अनभुव छ । त्यस्तै उपाध्यक्ष पुन गैरसरकारी संस्था मिलन म्याग्दीकी कार्यकारी प्रमुख समेत हुनुहुन्छ ।

गैससको अभियानमा सक्रिय रहनुभएकी पुनले सामाजिक अभियान तथा विकास निर्माणको क्षेत्रमा समेत सहकारीमार्फत काम गर्नुभएको छ । उपाध्यक्ष पुन अन्नपूर्ण–५ पाउद्धरकी हुनुहुन्छ । नेकपा एमालेका अध्यक्ष देवेन्द्र केसीको उपस्थितीमा अध्यक्ष र उपाध्यक्ष पदमा सर्वसम्मत भएपछि एमालेले निर्वाचनको अभियानलाई तिब्रता दिने जनाएको छ । अन्नपूर्णमा १४ मतदान स्थल र १७ मतदान केन्द्र रहेको छ भने कुल १२ हजार २६ मतदाता छन् ।

एमालले मंगला गाउँपालिका गाउँपालिका अध्यक्ष सतप्रसाद रोकालाई उम्मेदवार घोषणा गरेको छ । रघुगंगा गाउँपालिका अध्यक्षमा प्रेमबहादुर कार्कीलाई उम्मेदवार बनाउन पालिका कमिटीले सर्वसम्मत सिफारिस गरेको छ । नेकपा एमालेले मंगलबारसम्म पालिकास्तरको उम्मेदवार टुंगो वा सिफारिस गर्नेछ । बेनी नगरमा चारजना, मालिकामा २, धवलागिरीमा ३ जना अध्यक्ष पदमा आकांक्षी रहेका छन् ।

Leave a Reply