तस्बिर : सेभेन समिट ट्रिक्स प्राली

यस वर्षको पहिलो हिमाल आरोहण धौलागिरिमा भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा पर्ने सातौँ अग्लो धवलागिरि हिमाल (८१६७ मि) अग्लो हिमालको सफलतापूर्वक आरोहण गरेर सन् २०२२ को आरोहण सुरु भएको पर्यटन विभाग अन्तर्गत पर्वतारोहण शाखाका प्रमुख सूर्यप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

अहिलेसम्म १० जना आरोही र १२ जना आरोहण सहयोगी गरी २२ जना शिखरमा पुगेका विभागबाट खटाइएका सम्पर्क अधिकृत नगेन्द्र रोकाले जानकारी दिनुभयो । यस वर्ष धौलागिरि हिमाल आरोहणका लागि दुई समूहबाट २१ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार यो वसन्त ऋतुको मौसममा १८ वटा हिमाल आरोहणका लागि ६१ वटा समूहबाट पाँच सय पाँच जनाले अनुमति लिएका छन् । सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि दुई सय चार जनाले अनुमति लिएका छन् । विभागले आरोहण रोयल्टी शुल्कबापत २९ करोड ७४ लाख ३४ हजार आठ सय एक रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

अनमुति लिएकामध्ये धेरैजसो आरोहीहरू हिमालका आधार शिविरतर्फ गइसकेका छन् । पर्वतीय पर्यटकहरूको आगमनसँगै कोरोना महामारीले शिथिल बनेको नेपालको पर्यटन व्यवसाय लयमा फर्कन थालेको व्यवसायीहरूले बताएका छन् ।

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा पर्ने धवलागिरिको पश्चिम मोहडाबाट आरोहण गर्ने अनुमति लिएको जनाइएको छ । धवलागिरि गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको सिमाना तथा छिमेकी जिल्ला मुस्ताङबाट समेत धवलागिरि हिमालमा जान सकिने भए पनि नियमित आरोहणका लागि पश्चिम मोहडा नै आरोहीहरुको रोजाइमा पर्ने गरेको छ ।

सन् १९६० मे महिनाको १३ तारिखमा अस्ट्रेलियन नागरिक कुर्ड डिम्बकरणले पहिलोपटक धवलागिरि हिमालको आरोहण गरेको रेकर्ड देखिन्छ । विभिन्न अभिलेखमा सन् १९४९ मा भारतमा रहेको ब्रिटिसको टोलीले सर्वे गरेको भए पनि १९४९ मा स्वीस हवाई सर्वेक्षण अज्ञात रहेको थियो । केही समय अगाडि विश्व कीर्तिमानी गर्ने क्रममा म्याग्दीका निर्मल पुर्जाले अतिरिक्त अक्सिजनबिनै आरोहण गरेपछि धवलागिरि हिमालको चर्चा भएको थियो ।

Leave a Reply