म्याग्दीको मंगला गाउँपालिका-१,पूर्णगाउँ चिसापानीमा पुरानो मन्दिर सुनबहादुर विश्वकर्माको अगुवाईमा निर्मित बन्यो। सन् सन् १९८३ सालमा निर्मित जिर्ण दुर्गा भगवती कालिका माईको मन्दिर बनाउन विश्वकर्मा दिनरात खटिए । सरकारी निकाय,स्वदेश तथा विदेशमा रहेकाको सहयोगमा विश्वकर्माले मन्दिर ठड्याए ।

देबीको नाउमा गैर दलितले दलितमाथि थिचोमीचो हुन्छ भन्ने प्रसस्तै उदाहरण आफ्नै आँखाले देखेका विश्वकर्मालाई मन्दिर बनाउन स्थानीय गैरदलितले समेत साथ दिए ।

दलित र गैरदलितको भब्य उपस्थितीमा मन्दिरमा भब्य कार्यक्रम गरी मन्दिर निर्माण समितिका अध्यक्ष विश्वकर्मालाई भब्य सम्मान समेत गरिएको थियो । मन्दिरका पूजारी चन्द्रबहादुर राम्जालीले स्थानीय जनआवाज आधारभुत विद्यालयका प्रअ समेत रहेका विश्वकर्मालाई मन्दिरको चावी नै हस्तान्तरण गरे ।

‘मन्दिरका भगवानले दलित–गैरदलित भनेर विभेद गर्नुहुदैन,‘मन्दिर सबैको लागि हो’ पूजारी चन्द्रबहादुरले भन्नुभयो । मन्दिरमा नियमित पूजाआजामा दलित समुदायलाई कुनै रोक नभएको पूजारी राम्जालीको भनाई छ ।

स्थानीय गैरदलित यूवाहरूले समेत मन्दिर सधै सबैका लागि खुल्ला रहेको सन्देश दिदैं आर्थिक सहयोगका साथै दलित अगुवाहरूसँग मिलेर मन्दिर बनाउन सघाएपछि स्थानीय दलित समुदाय समेत उत्साहित छन् ।

कानुन नै बनाएर छुवाछुत र जातीय विभेदलाई दण्डनीय बनाइएको र धेरै ठाउँमा सार्वजनिक कार्यक्रम छुवाछुतमुक्त घोषणा गरिएको भए पनि व्यवहारमा कार्यान्वय नभइरहेको अवस्थामा पूर्णगाउँबासीले सन्देश दिन सफल भएको मन्दिर निर्माण समितिका संयोजक विश्वकर्माले बताउनुभयो ।

‘जातीय विभेद कायमै रहेको भन्नेहरुलाई मन्दिरमा स्वागत छ,‘मन्दिरमा दलित प्रवेश रोक्नेहरूलाई हामीले सन्देश दिन सफल भएका छौ’ विश्वकर्माले भन्नुभयो । मन्दिरको तीनवटा चावीमा पूजारी, स्थानीय आमा समुह र आफुँसँग रहेको बताउनुभयो ।

मन्दिरमा दलितको श्रम चल्ने, शिप चल्ने तर पूजा गर्न दलितलाई नचल्ने अवस्थाको अन्त्यमा समुदायको साथ रहेको राष्ट्रिय जनजागृति माविका प्रअ टेक राम्जालीले बताउनुभयो ।

‘समुदायमा सबैको हातेमालो आवश्यक पर्छ,‘सभ्य समाज बनाउन विभेदको अन्त्य हुनुपर्छ’ राम्जालीले भन्नुभयो । मन्दिरको ढोकाबाट दलित फर्किनुपर्ने, मन्दिरमा प्रवेश गर्दा अवरोध, जातिय विभेदका अनेक रुपले दलित समुदायले हिन्दु धर्म नै परिवर्तन गर्नुपर्ने बाध्यता हुनुपरेको अवस्थामा पूर्णगाउँबासीले सन्देश दिएको स्थानीयको भनाई छ ।

मन्दिरका पूजारी समेत प्रअ राम्जालीका बुबा हुन् । मन्दिर निर्माणमा करिब ९ लाख खर्च भएपनि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशबाट ४ लाख, वडाबाट १ लाख ३० हजार, मंगला गाउँपालिका ८५ हजार बाहेक सबै चन्दा सहयोग भएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

Leave a Reply