म्याग्दीको विकट रघुगङ्गा गाउँपालिका-८,का कुईनेका ६७ बर्षिय टिक बहादुर विश्वकर्मा १५ बर्षको उमेरदेखि पुख्यौली नाचमा मादलेको भूमिकामा देखिए । छन्त्याल र मगर समुदायका विभिन्न शुभकार्य र मेलापर्वमा समेत पुगेर मारुनी नाचमा मादलेको भूमिमा देखिएका विश्वकर्माको ज्यानमा अहिले पनि युवा जोस कायमै छ ।

घाँस काट्न रुखमा चढेको बेलामा खसेर घाईते भएका विश्वकर्मा उमेरले बुढ्यौलो अवस्थामा पुगे पनि गाउँघरमा अहिले पनि दुईवटा लौरो टेकेर सार्वजनिक तथा शुभकार्यमा देवीदेवताको आराधना गदैै पुख्यौली नाच देखाउन थालेपछि पुगिहाल्छन् ।

उठ्न बस्न वरपर हिँड्न लौरो सहारा विना हुँदैन तर पनि उनले जोस देखेर सबै दंग पर्छन् । पुराना भाकामा विश्वकर्माको प्रस्तुतीले बुढापाका समेत खुसी हुन्छन् । कम्मरमा मादल भिरेर हिड्ने विगतका दिनहरू अव सम्भव नभएपनि विश्वकर्माको एउटै चाहना छ । लोक गायक कृष्ण कँडेलको लोकप्रिय इन्द्रेणी कार्यक्रममा गएर गाउने ।

गाउँमा मोटरबाटो उद्घाटन गर्न पुगेका अतिथिलाई आफ्नो जीवनको इच्छा बारेमा खुलेर सुनाएका थिए ।‘मेरो खवर कृष्ण कँडेल सरलाई पुराइदिनु,‘उहाँसँगै गित गाउने सपना छ’ विश्वकर्माले भने । उनले मादल कम्मरमा भिरेर मारुनी सँगै नाच्ने बताए ।

गाउँमा मोटरबाटो आएपछि विगत पाँचबर्ष देखि इन्द्रेणी कार्यक्रममा पुग्ने आफ्नो चाहना पुरा हुने उनको भनाई छ । पैदल राम्रोसँग हिड्न नसक्ने अवस्थामा मोटरबाटो गाउँमै आएपछि सिधै इन्द्रेणीमा पुगेर गाउँको दुखपिडालाई गीतमार्फत सुनाउने उनले बताए । यूवाहरु विदेश जान थालेपछि पुख्यौली नाचको परम्परालाई जोगाउनुपर्ने उनको भनाई छ।

आफ्नो इन्द्रेणीमा पुगेर गीत गाउने सपना पनि पुरा हुन नसके सधै मन दुखाएर बस्ने बताए । इन्टरनेटको अभाव, राम्रो मोवाईल नहुदाँ समेत उनले छिमेकी र आफन्तको सहयोगमा इन्द्रेणी कार्यक्रम हेर्ने गरेका छन् । कलिलै उमेरमा पुख्यौली समुहमा सहभागी भएका टिकबहादुरले पुराना र मार्मिक गितहरु पस्किने गरेका छन् । घरआँगनमै आएको मोटर बाटोबाट इन्द्रेणी कार्यक्रमसम्म पुगेर फर्किने विश्वकर्माको सपना पुरा गरिदिन समेत अनुरोध गरेका छन् ।

Leave a Reply