म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा पर्ने सातौँ अग्लो धौलागिरी हिमाल (८१६७ मि) आरोहण गरी फर्कने क्रममा ग्रिकका आरोही ५५ वर्षीय एन्टोनिअस स्क्यारिसको मङ्गलबार बिहान मृत्यु भएको छ । चुचुरो पुगेर फर्किने क्रममा तेस्रो क्याम्पस्थित सात हजार ४०० मिटरमा उहाँको मृत्यु भएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पाले जानकारी दिनुभयो ।मृतक आरोही ग्रिकका प्रख्यात अल्पानिष्ट हुन् ।

स्क्यारिसले यसअघि सगरमाथा, ल्होत्से र अन्नपूर्ण हिमालको आरोहण गरिसक्नुभएको थियो। आरोहण गरी फर्कने क्रममा अस्वस्थ भएपछि उहाँको गाइडलगायतका शेर्पाहरुले तेस्रो क्याम्पसम्म ल्याए पनि बचाउन नसकिएको गाइड दावा शेर्पालाई उदृत गर्दे मिङमा शेर्पाले जानकारी दिनुभयो ।

मृतकको शव आधार शिविर ल्याउन परिवारसँग समन्वय भइरहेको छ । यसबर्ष १० जना आरोही र १२ जना आरोहण सहयोगी गरी २२ जना शिखरमा पुगेका छन् । यस वर्ष धौलागिरि हिमाल आरोहणका लागि दुई समूहबाट २१ जनाले अनुमति लिएका छन् ।

धवलागिरि गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको सिमाना तथा छिमेकी जिल्ला मुस्ताङबाट समेत धौलागिरी हिमालमा जान सकिने भए पनि नियमित आरोहणका लागि पश्चिम मोहडा नै आरोहीहरुको रोजाइमा पर्ने गरेको छ । केही समय अगाडि विश्व कीर्तिमानी गर्ने क्रममा म्याग्दीका निर्मल पुर्जाले अतिरिक्त अक्सिजनबिनै आरोहण गरेपछि धवलागिरि हिमालको चर्चा भएको थियो ।

Leave a Reply