म्याग्दीको विकट रघुगङ्गा गाउँपालिका-८,का कुईनेका ८६ बर्षिय चन्द्रबहादुर छन्त्याललाई आफ्नो गाउँमा मोटर आउँछ भन्ने विश्वास पटक्कै थिएन । किशोरावस्थामा गाउँबाट सदरमुकाम बेनीबजार पुग्न उनी दुई दिन खर्चन्थे । खाद्यान्न,नुनतेल लिन बेनी हुदै बटौली पुगेर फर्किदा महिनादिनसम्म यात्रा गर्नुपर्ने बाध्यता थियो ।
छन्त्यालजस्तै ८० बर्षिय शक्तमान छन्त्याल डाडाँपारीको सूर्य जस्तै अस्ताउने बेलामा गाउँघरमा सडक पुगेपछि फुरुङ्ग छन्। भोक–प्यासै दिनरात कयौं किलोमिटर पैदल हिँडेर चामल र नुन लिन बटौलीसम्म पुगेका छन्त्यालको घर नजिकैबाट सवारी साधनको ताँती देखेपछि मोटरमै पुगेर स्वागत गरे ।
बुढेसकालमा गाउँमा विकास देख्ने अवसर पाएपछि गाउँका पुराना कलाकार टिकबहादुर विश्वकर्माले गितबाटै गाउँमा पुगेकालाई न्यानो स्वागत गरे । करिब ५ बर्ष अगाडी छिमेकी वडा पाखापानीमा आयोजित स्वास्थ्य शिविरमा गाउँमा मोटरबाटो माग्दै आएका विश्वकर्माले सपना पुरा भएको बताए ।
‘अहिले त गाउँमै मोटरबाटो आयो, विगतका दिन सम्झँदा सपना जस्तै लाग्छ, अब मोटरमै सहर जान सकिन्छ’ विश्वकर्माले भने । उनले दुर्गम गाउँमा मोटरबाटो पुग्ने कल्पना पनि नगरेको बताए ।
गाउँका अधिकांस यूवाहरू रोजगारको खोजीमा पलायन भएपछि गाउँमा रहेका बुढापाकाले आफ्नै घरको झ्यालबाट देखिने सडकमा मोटर गुड्न थालेपछि निकै उत्साहित देखिन्छन् । सडक सञ्जालमा जोडिएपछि सवारीसाधन र मोटरबाटो हेर्न पैदल यात्रा गरेर आसपासमा बस्तीसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
स्थानीयले सडक उद्घाटन गर्न आएका अतिथिलाई विगत सम्झेर सुखको अनुभूति सुनाएका थिए । ‘बुढेकालमा ति दिन सपना जस्तै लागेको छ,‘हामीले धेरै प्रयोग गर्न नपाएपनि छोराछोरीलाई सजिलो भयो’ ७५ बर्षिय पलप्रसाद छन्त्यालले भने । दुःख पाएपछि हिडेर गाउँबाट सहर झरेका छन्त्याल अहिले नुनतेल घरछेउमै पाउने बताए ।
गाउँपालिका, गण्डकी प्रदेश सरकार, स्थानीयको श्रमदान र चन्दा संकलन गरी रघुगङ्गा–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइनेसम्मको १२ किलोमिटर लामो सडक निर्माण गरिएको वडा अध्यक्ष गमान छन्त्यालले बताए ।
‘गाउँलेको ठूलो चाहना पुरा भएको छ,‘अब नियमित सडक सञ्चालन हुने गरी मर्मतमा समेत प्राथमिकता दिन्छौ’ अध्यक्ष छन्त्यालले भने । उनले सडक सञ्जालले कुईनेमा विकासको ढोका खुलेको बताए । हिउँ नै हिउँ रहेका डाँडाकाँडा र बर्खाको समयमा सास्ती हुने भएपनि जनप्रतिनिधिले मर्मतसम्भार कोषबाट नियमित मर्मत गर्ने बताएका छन् ।
थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिका अनुसार ९१ लाख १२ हजारको लागतमा उक्त सडक निर्माण गरिएको हो। सडक निर्माण गर्न गण्डकी प्रदेश सरकारको समपूरक बजेटबाट ५० लाख र गाउँपालिकाको रु ३३ लाख ५० हजार लगानी भएको उपभोक्ता समितिका अध्यक्ष चबहादुर छन्त्यालले बताए।स्थानीयवासीलाई आवतजावतका साथै कृषि उपज बिक्री वितरण गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको छ ।
सडक सञ्जालसँग जोडिएसँगै अब कुइनेबासीलाई सदरमुकाम बेनी पुग्न पाँच घण्टा मात्र लाग्नेछ । बेनीबाट कुइनेसम्मको सडकको दूरी ४२ किलोमिटर छ ।
सडक विस्तार गर्न गाउँपालिका अध्यक्ष भण्डारीले १२ लाख ६० हजार, चित्रमान छन्त्यालले चार लाख ५० हजार र थमबहादुर छन्त्यालले तीन लाख ५० हजार सहयोग गरेका थिए । गाउँमा सडक पुगेपछि स्थानीयले नाचगान गरेर खुसीयाली मनाएका थिए ।
रिङरोडमा जोडिँदै कुईने
कुनै समय गाउँमा सडक एकादेशको कथा जस्तै लाग्ने कुईनेगाउँ अवको एकबर्षभित्र छिमेकी धवलागिरी–६,मल्कवाको सडक सञ्जालमा जोडिँदैछ। मल्कवाङको भेडिखाल्टासम्म पुगेको सडकलाई मल्कवाङ गाउँसम्म जोड्ने योजना अनुसार बजेट समेत विनियोजन भएको छ ।
मल्कवाङबासीलाई कुइनेखानी हुँदै ठाडाखानीबाट सदरमुकाम जान सहज हुन्छ ।मल्कवाङ–बेसी– दरबाङ हुदै कुईने समेत जान सकिन्छ । पश्चिम र उत्तरी म्याग्दी जोड्ने गरी जिल्लाका ६ वटा स्थानीय तहमध्ये पाँच वटामाउक्त सडक सञ्जालबाट सहजै आवतजावत गर्न सकिन्छ। छोटो रुटको प्रयोगले स्थानीय उत्पादनको बजारीकरण सहज हुने स्थानीयको भनाई छ ।
रिङरोडले जिल्लको अन्नपूर्ण गाउँपालिका बाहेक सबै स्थानीय तहलाई छोएर सदरमुकाम बेनी पुग्न सकिने भएकाले पनि दुर्गमका बासिन्दालाई कृषि उपजको बजारीकरणमा समेत सहज हुन्छ ।
सडक सञ्जालको विस्तारले बहुमूल्य यार्सागुम्बा, जटामसी, पाँचऔले सहितका जडीबुटीको बिक्रीका साथै गाउँ आसपासमा अलपत्र अवस्थामा रहेका तामाखानी पुनः सञ्चालन हुनेछ। रिङरोडले जोडिने बस्ती तामाखानीका लागि प्रख्यात छन् । एकबर्ष अगाडीसम्म विकट र दुर्गमको परिचय बोकेको कुईने विकासको लहर छिरेपछि पुरानो चिनारी बदलिँदै छ। मुहार फेरिदैँछ ।