कवि मन त्यसै पनि कोमल हुन्छ । झन त्यसमाथि वौद्धिकताले खारिएको र परोपकारी भावले तिखारीएको मन र मस्तिष्क भएका व्यक्तिहरुले अरुको दुःख पीडा र अभावलाई वेवास्ता गरेर हिड्नै सक्दैनन् । यस्तै व्यक्तिहरुमध्येका एक हुनुहुन्छ म्याग्दीको मंगला गाउँपालिका वडा नं १ पूर्णगाउँका क्षेत्रबहादुर भण्डारी ।
सरकारी सेवाका क्रममा देशका विभिन्न ठाउँमा पुग्नुभएका,जनताका विभिन्न अवस्थाहरुलाई नजिकबाट देख्नु र भोग्नुभएका क्षेत्र सर पेसाले नेपाल सरकारका उपसचिव हुनुहुन्छ । नवलपरासीको कावासोतीमा कार्यरत भण्डारीले आफ्नै गृहजिल्लाको एउटा गाउँमा रहेको विपन्न परिवारकी एक बालिकाको बालबोली पुरा गर्न उनको शिक्षाको सम्पूर्ण जिम्मेवारी आफूले ग्रहण गर्नुभएको छ ।
म्याग्दीको मंगला गाउँपालिका वडा नं १ मा अवस्थित जन आवाज आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत ९ वर्षिया झरना सापकोटाका शब्दले कवि मन भएका भण्डारीलाई भावुक बनाइदिए ।
दैनिक साढे दुई घण्टा हिडेर विद्यालय आवतजावत गर्ने अत्यन्त विपन्न परिवारकी सापकोटाले धेरै पढेर डाक्टर बन्ने र आफूजस्तै अत्यन्त गरिब परिवारका व्यक्तिहरुको निशुल्क सेवा गर्ने बताए पछि भण्डारी विद्यालयमै पुगेर उनको माध्यमिक तह सम्मको सम्पूर्ण जिम्मेवारी ग्रहण गर्नुभएको हो ।
खानी गाउँ निवासी सापकोटाको परिवार अत्यन्तै गरिब छ । पढाइमा अब्बल भए पनि झरना घरको कमजोर आर्थिक अवस्था र विद्यालय जान आउन खर्चिनु पर्ने समयले गर्दा राम्रोसंग पढ्न पाउनुहुन्न । झरनाको यस्तो अवस्था देखे पछि भण्डारीले उनको सम्पूर्ण खर्च व्यहोर्नेगरी अभिभावकत्व ग्रहण गर्नुभएको विद्यालयका प्रधानाध्यापक सुनबहादुर विकले बताउनुभयो ।
“छोरीको पढाई देखेर र उनको चाहना सुनेर क्षेत्र सरले उनलाई माध्यमिक तहसम्म पढाइ दिने गरी खर्च र आवश्यक सामाग्री दिए पछि हामीहरु ढुक्क भएका छौं, गरिबीका कारण हामीले यहाँ भन्दा पढाउन सक्ने सामथ्र्य थिएन,तर क्षेत्र सरको सहयोगले अब भने छोरीले पढ्न पाउने भएकीछन्” झरनाका बुबा बुद्धि सापकोटाले भन्नुभयो ।
परोपकारी र मानवीय भावनाका धनी भण्डारीले आफ्नो आत्मालाई संतुष्टी र सोचलाई न्याय मिलेको महशुस आफूलाई भएको बताउनुभयो ।
प्रकृतिप्रेमी साहित्यक मनका धनी भण्डारीले भन्नुभयो “चल्तीको र चकाचौध हुने छोटो छरितो भ्रमपूर्ण बाटोले मलाई पनि नडोहोर्याएको कहाँ हो र ! तर संझाउनुपर्ने कसैले यो तेरो क्षेत्र होइन क्षेत्र भन्दै सम्झाएर अर्को क्षेत्र यसरी देखाइदियो कि जो नसम्झिएर÷ नदेखेर असमझदारी देखाउनुको कुनै औचित्य नै छैन । सोच बदलिए पछि दृश्य पनि उस्तै देखिने नै भयो।” साहित्यक जवलमा नै भण्डारीले भन्नुभयो ।