---Advertisement---

बागलुङमा धमाधम उम्मेदवार टुंग्याउँदै विप्लव नेतृत्वको नेकपा

On: April 15, 2022 10:04 PM
Follow Us:

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जिल्लामा धमाधम उम्मेदवारको टुंगो लगाउन सुरु गरेको छ। स्थानीय निर्वाचनमा भाग लिने नलिने विषयमा केन्द्रीय नेतृत्वमा मत भिन्नता रहँदै गर्दा बागलुङमा भने उक्त पार्टीले स्वतन्त्र उम्मेदवारी दिनेगरी उम्मेदवार चयन प्रक्रियालाई तीव्रता दिएको हो। स्थानीय निर्वाचनमा भाग लिने मुख्य राजनीतिक शक्तिहरुलाई उम्मेदवार छनोटमा सकस भैरहेको बेला विप्लव नेतृत्वको नेकपा जिल्ला कमिटिले उम्मेदवारको टुंगो लगाईरहेको छ।

जिल्लाको ढोरपाटन नगरपालिकामा उक्त पार्टीले ९ वटै वडामा वडाध्यक्षको उम्मेदवारको टुंगो लगाएको छ। पार्टीको बैठकबाट ढोरपाटन-१ मा हरि कुँवर, वडा नम्बर २ मा दिलबहादुर कुमाल, वडा नम्बर ३ मा बालकुमार छन्त्याल, वडा नम्बर ४ मा सुशिल विक र वडा नम्बर ५ मा शिवध्जव पुनलाई वडाध्यक्षको उम्मेदवार तोकिएको छ। वडा नम्बर ६ मा महेन्द्र भण्डारी, वडा नम्बर ७ मा खगेन्द्र घर्तीमगर, वडा नम्बर ८ मा भूमिकर्ण घर्ती र वडा नम्बर ९ मा राधा सुनारलाई वडाध्यक्षको उम्मेदवार तोकिएको ढोनपा-१ का वडाध्यक्ष उम्मेदवार हरि कुँवरले बताए।

‘हाम्रो पार्टीले स्वतन्त्र रुपमा उम्मेदवार बनेर जिल्लामा स्थानीय निर्वाचनमा भाग लिने भनेर जिल्ला कमिटिले निर्णय गरेको छ,’ कुँवरले भने,‘त्यही आधारमा हामीलाई ढोरपाटनका वडाहरुमा वडाध्यक्षको उम्मेदवार तोकिएको छ। वडा सदस्य र मेयर उपमेयरको छलफलबाट टुंगो लगाउँदैछौं।’ पार्टीमा आवद्ध व्यक्तिहरुले स्वतन्त्रबाट सबै स्थानीय तहमा उम्मेदवारी दिनेगरी उम्मेदवार छनोटको प्रक्रिया थालिएको नेकपा बागलुङका जिल्ला सेक्रेटरी छम सेनले बताए।

‘पार्टीकै भन्दा पनि स्वतन्त्र दिनेगरी ढोरपाटनको वडाध्यक्षहरुको टुंगो लगाएका छौं, अन्य पदमा छलफल गर्दैछौं,’ उनले भने,‘निसीखोला र बडिगाडको वैशाख ३ गते टुंग्याउँछौं अनि बागलुङ नगरपालिकाको ७ गते टुंगो लगाउँदैछौं।’ तमानखोला गाउँपालिका बाहेक बागलुङका सबै स्थानीय तहमा उम्मेदवारी दिनेगरी पार्टीले तयारी गरेको उनको भनाई छ। ‘यस पटक तमानखोलामा हुँदैन होला, त्यो बाहेक सबै पालिकामा सबै पदमा उम्मेदवारी दिनेगरी लागेका छौं,’सेनले भने। जिल्ला निर्वाचन कार्यालय बागलुङका अधिकृत यज्ञप्रसाद रिजालले पनि नेकपाको जिल्ला इन्चार्ज सहितको टोली कार्यालयमा पुगेको निर्वाचनबारे छलफल गरेको बताए।

‘जिल्ला इन्चार्ज सहितको टोली आउनुभएको थियो, हामीले पनि स्वतन्त्रबाट उम्मेदवारी दिन्छौं होला भन्नुभएको छ,’ रिजालले भने,‘निर्वाचन आयोगले तोकेको अवधीमा पार्टी संगठन दर्ता नगराएका दलहरु स्वतन्त्र उम्मेदवारको हैसियतमा निर्वाचनमा भाग लिन पाउनहुन्छ।’ निर्वाचन आयोगले सूचीकरण गरेको निर्वाचन चिन्हबाट स्वतन्त्र उम्मेदवारलाई चिन्ह प्रदान गरिने उनले बताए।