म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीदेखि वडा नं ७ स्थित प्यारीबाराही ताल जोड्ने साइकल मार्ग सञ्चालनमा आएको छ। सडक विस्तारसँगै छोटिएको पर्यटकको बसाइ लम्ब्याउन प्यारीबाराही ताललाई सहायक गन्तव्य बनाएर गुराँसको जंगलभित्र साइकल मार्ग सञ्चालन गरिएको हो। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटक र पाहुनाको बसाइ लम्ब्याउन साइकल मार्ग पहिचान गरेर पूर्वाधार निर्माण र प्रचारप्रसारमा जुटेको बताए।

नयाँ वर्षको अवसरमा पोखरा साइकल सिटीका १४ जनाको टोली साइकल चढेर घोडेपानी पुगेका थिए। गुराँसको जंगलभित्र साइकल चढेर प्यारीबाराही ताल पुगेका सिटीका सहसचिव धर्मसिंह लामिछाने नेतृत्वको टोली पुनहिल घुमेर कास्कीको उल्लेरी हुँदै पोखरा फर्किएका छन्। पहाडको टाकुरामा रहेको घोडेपानी पुनहिल घुम्न साइकल चढेर जान सकिने लामिछानेले बताए।

‘गुराँसको जंगलभित्र पृष्ठभूमिमा हिमाल हेर्दै साइकलमा यात्रा गर्न पाउनु यहाँको आकर्षण हो,’ उनले भने, ‘स्वास्थ्यका लागि लाभदायक साइकल यात्रा घोडेपानी क्षेत्रको पर्यटन विकासको माध्यम पनि बन्न सक्ने देखियो।’

DCIM100MEDIADJI_0288.JPG

स्थानीय होटल व्यवसायीले पर्यटकलाई साइकल भाडामा दिएर घुम्ने व्यवस्था मिलाउन सक्ने उनको सुझाव छ। गत वर्ष प्रदेश सरकारको २० लाख सहयोगमा घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने तीन–तीन किमि दूरीको डेढ मिटर चौडाइ भएको घोडा र साइकल मार्ग निर्माण भएको थियो।

गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीबाराही ताल जोड्ने मार्गमा चरा अवलोकनस्थल र घोडा बाँध्ने तबेलासमेत बनाइएको उपभोक्ता समितिका अध्यक्ष सुशील पुनले बताए।

DCIM100MEDIADJI_0294.JPG

‘लालीगुराँसको घना जंगलको बीचमा समथर चौर भएको कालीसार भन्ने ठाउँमा चरा अवलोकन स्थल बनाइएको छ,’ उनले भने, ‘गुराँसे जंगलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण शृंखलाका हिमालको दृश्य अवलोकन गर्न सकिन्छ।’

यसैगरी भालखारामा पर्यटक चढ्ने घोडा बाँध्ने तबेला निर्माण भएको छ। घोडेपानी र प्यारीबाराही क्षेत्रमा ठूलो गुराँसको जंगल छ। जंगलमा डाँफे, कालिज, मृग, चितुवा, घोरललगायत वन्यजस्तुको बसोवास छ। जैविक विविधताका हिसाबले पनि यो पदमार्ग आकर्षक छ। घोडेपानीबाट पर्यटक घोडा र साइकल दुवै चढेर प्यारीबाराही ताल जान तथा आउन सक्ने भएका छन्। जंगलको बीचमा रहेको प्यारीबाराही तालको धार्मिक तथा पर्यटकीय सम्भावना छ। तालमा हिमालको छाया देखिन्छ।

जनैपूर्णिमा पर्वमा यहाँ पूजाआजा गरे मनोकांक्षा पूरा हुने विश्वाससाथ मेला लाग्ने गर्छ। करिब २ सय मिटर लम्बाइ र सय मिटर चौडाइमा गोलो आकारमा फैलिएको ताल आकर्षक छ। तालमा खस्ने पात एउटा चराले टिपेर फाल्ने गरेको स्थानीयवासी बताउँछन्।

Leave a Reply