सरकारले मंगलबार र बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।७ सय ५३ वटा पालिकाबाट वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखाको पोषण शाखाका प्रमुख लिला थापाले देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको जानकारी दिए । ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् ।

भिटामिन ‘ए’ खुवाउनको लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउँदै आइरहेको छ । जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिएको हो । महाशाखाको पोषण शाखाका प्रमुख थापाका अनुसार यो कार्यक्रमका लागि ६ करोड ७१ लाख लाग्ने आंकलन गरिएको छ । onlinekhabar

Leave a Reply