माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जालीले स्थानीय निर्वाचनमा काँग्रेसलाई जिताएर एमालेलाई हराउन माओवादी बाध्य नभएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । उनले माओवादीको सहयोगमा जिल्लामा कांग्रेसलाई बलियो बनाउनुभन्दा आफ्नो तयारीमा जुट्ने संकेतले काँग्रेस र माओवादीले गठबन्धन नहुने संकेत गरेको देखिन्छ ।

औपचारिक रूपमै जिल्लामा गठबन्धन नटुटेपनि खटपट भएकै बेलामा माओवादीका जिल्ला संयोजक जुग्जालीले आफूहरूको सिद्धान्त काँग्रेसलाई जिताउनै पर्छ भन्ने नरहेको बताएकाले पनि अव म्याग्दीमा गठबन्धन हुने सम्भावना क्षीण बन्दै गएको बताइएको छ ।

‘एउटालाई हराएर अर्कालाई जिताउने ठेक्का माओवादीको होइन,‘आफ्नो पूरा शक्तीका साथ हरेक चुनौतीको सामना गरौं,जो चुनौती संग खेल्न रमाउँछ त्यसैको साथमा हुनेछ हरेक अबसर’ संयोजक जुग्जालीको स्टाटसले कांग्रेसलाई गाली र एमालेलाई ताली दिएको देखिन्छ । जिल्लामा पाँच दलिय गठबन्धनले तालमेल सहमति पछि बसेको कुनैपनि छलफल सकारात्मक छैन ।

जिल्लामा सत्ताधारी गठबन्धनले एक्ला–एक्लैउम्मेदवारी घोषणा गर्न थालेपछि बजारमा अनौपचारिक अनेक चर्चा सुरू भएको छ।नेपाली कांग्रेस र माओवादीतर्फका नेताहरूको प्रतिक्रियाले समेत गठबन्धनको सम्भावना न्यून रहेको देखिएको छ भने जिल्लामा गठबन्धन गर्ने अधिकार स्वैच्छिक र खुल्ला हुनुपर्ने भन्दै माथिल्लो तहमा दबाब समेत दिने गरिएको छ ।

गठबन्धनमा खटपट भइरहेको अवस्थामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग तालमेलको समाचार जोडिएर आएपछि प्रेस विज्ञप्तीमार्फत नै खण्डन गरेको छ ।एमालेले दुईपटक गरेको खण्डनलाई नै आधार मान्दा एमाले तालमेल विनै प्रतिस्पर्धामा जाने देखिन्छ ।

यो समाचार तयार पर्दासम्म जिल्लामा तीन ठूला दल आसन्न स्थानीय तहमा आमने–सामने हुने करिब निश्चित भएपनि निर्वाचनको मुखमा आवश्यक सहकार्यको सम्भावना भने कायमै छ ।नेकपा माओवादी केन्द्रका जिल्लास्तरीय नेताले गठबन्धनको बैठकमा वा अनौपचारिक छलफलमा या सार्वजनिक सभाहरूमा काँग्रेसले अपमान गरिरहेको महसुस गरेको बताउँछन् ।

यता नेपाली कांग्रेसका नेताहरूले हरेक स्थानीय तहमा माओवादीको ६० प्रतिशतको हाराहारीमा माग गर्ने गरेकाले समेत तालमेलबाट साझा उम्मेदवार छनौटमा समस्या भएको बताउँछन् ।केन्द्रीय तालमेलको मापदण्डलाई पालना गर्न कांग्रेस लचिलो भएपनि जिल्लामा आफुँले रोजेको पाएमात्रै अन्य पालिकामा सहकार्य गर्ने माओवादीको अडानले समस्या भइरहेको कांग्रेस नेताको भनाई छ ।

यता गठबन्धनमै सहभागी एकिकृत समाजवादीले भागबन्डामा कुरा नमिल्दा समस्या भएको बताउने गरेको छ । एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले दुईपटक संसद विघटन, अघोषित रुपमा पटक–पटकसंविधान मिच्ने प्रयाससँगै गणतन्त्र र व्यवस्थामा संकट पार्ने शक्ती विरुद्धको गठबन्धन भएकाले तिनै तहको निर्वाचनमा सहकार्य आवश्यकता रहेको बताए ।

‘लामो समयसम्म कांग्रेससँग सहकार्य नहुनसक्छ, अहिलेको अवस्थामा आवश्यकता हो’ अध्यक्ष विश्वकर्माले भने । गठबन्धन भित्र दिने र लिने भन्दा पनि सहकार्य को भावना आवश्यकता रहेको बताए । हालसम्मको छलफलले कुनै निष्कर्ष ननिकालेपनि तालमेलको संवाद जारी रहेको समेत बताए।

जिल्लामा हाल रहेका स्थानीय तहमा कांग्रेसले मालिका बाहेक अन्य स्थानीय तह रोज्न माओवादी केन्द्रलाई अनुरोध गरेको छ भने माओवादीले मालिकाको नेतृत्वमै दावी गरेको छ । पहिले जितेको सिटलाई कांग्रेसले सुरक्षित राख्न खोजेको अवस्थामा माओवादीको शक्ती पनि अन्य स्थानीय तहको तुलनामा मालिकामा धेरै भएकाले ६ वटा मध्ये एक रोज्न दिनुपर्ने अडानमै छ । कांग्रेसका नेताहरू मालिकालाई छोड्न नसकिने बताइरहेको अवस्थामा माओवादीले समेत जिल्लाभर संगठन बलियो बनाएकाले कांग्रेसलाई अन्य पालिकामा सहज हुने दावी गरेको छ ।

सम्मानजनक अवस्थामा स्वतन्त्र हिसाबले गठबन्धनको विकल्प भएपनि हालसम्म छलफल नभएको माओवादीका जिल्ला संयोजक जुग्जालीको भनाई छ ।

यता नेपाली कांग्रेसका जिल्ला सचिव हिरा पुनले माओवादीलाई जिल्ला समन्वय प्रमुख, मालिका बाहेक अन्य गाउँपालिकामा रोजेर प्रमुख, तालमेलबाट उपप्रमुख सहित वडाहरूमा समेत सम्मानजनक सिट सहितको प्रस्ताव गरिएको बताए । स्वःत स्फूर्त रुपमा पालिकामा गठबन्धन गर्न खुल्ला राखिएको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले बेनी नगरको मेयर बाहेक अन्य स्थानीय तहको प्रमुख, उपप्रमुखको उम्मेदवारी टुंगो नलगाएपनि वडाको उम्मेदवारी करिब टुंगो लगाएको छ भने माओवादी केन्द्रले समेत मालिकाको अध्यक्षका उम्मेदवार बाहेक अन्य स्थानीय तहमा उम्मेदवार टुंगो लगाउन नसकेपनि वडास्तरमा अन्तिम चरणमा रहेको छ ।

सत्ता गठबन्धनका दलहरुले आ–आफ्नो दाबी कायमै राखेपछि जिल्ला स्तरमा गठबन्धन गर्ने प्रयास सफल लगभग क्षीण भएपछि प्रतिपक्षलाई समेत सहज भएको छ । म्याग्दीमा एक नगरपालिका सहित ५ गाउँपालिका छन् ।

२०७४ को निर्वाचनमा जिसस उपप्रमुख सहित एक नगर प्रमुख र तीन गाउँपालिका अध्यक्ष , दुई गाउँपालिका उपाध्यक्ष तथा ४५ वटा वडा मध्ये १५ वटा वडा अध्यक्षमा कांग्रेस विजयी भएको थियो ।

माओवादी केन्द्रले ५ वटा वडा अध्यक्ष जितेको थियो । त्यस्तै नेकपा एमाले जिल्ला समन्वय समितिको प्रमुख सहित दुई गाउँपालिका अध्यक्ष ,तीन गाउँपालिका उपाध्यक्ष र २३ वटा वडा अध्यक्षमा विजयी भएको थियो । दुई वटा वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्धार विजयी भएका थिए । भने बेनी नगरको उपप्रमुख राप्रपाले जितेको छ ।

Leave a Reply