नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र अन्नपुर्ण गाउँपालिका कमिटीको इन्चार्ज बुद्धिबहादुर पुनले पार्टी परित्याग गर्नुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी चयन तथा पार्टीका महत्वपूर्ण निर्णयमा समेत अन्यायपूर्ण ढंगले पन्छाउन खोजेको भन्दै साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट राजिनामा दिनुभएको हो ।

सोमबार विज्ञप्ती जारी गदैं गण्डकी प्रदेश सदस्य समेत रहनुभएका पुनले विचार, सिद्धान्त र त्यागको आधारमा जनताको मन जितेपनि पार्टीमा ब्यक्तिवादी हावी भएको बताउनुभयो ।

अन्नपूर्ण–२ का वडा सदस्य समेत रहनुभएका पुनले पालिकाको इन्चार्ज भएपनि विना समन्वय पार्टीको हित विपरित काम हुन थालेपछि बाध्य भएर पार्टीबाट अलग भएको बताउनुभयो। ‘मेरो राजनीति भविस्य नै समाप्त पार्ने प्रयास भयो,‘जिल्ला नेतृत्वले समेत बेवास्ता गरेपछि अलग हुनुपर्यो’ पुनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

विचार र सिद्धान्तबाट निर्देशित भएर आफ्नो पार्टीमा सक्रिय भएपनि अवसरबादी, पहुँचवाला कब्जामा रहेको बताउनुभयो । माओवादी परित्याग गरेका पुनले कुनैपनि पार्टीमा जाने निर्णय भने गर्नुभएको छैन ।

२०५८ सालमा गाउँ जनसरकार प्रमुखको जिम्मेबारी लिएर पुनले माओवादीको सदस्यता लिनुभएको थियो । स्थानीय तहको निर्वाचनको मुखमा माओवादी केन्द्रबाट जनप्रतिनिधि नै अलग भएपछि पार्टीलाई धक्का लागेको छ । उत्तरी म्याग्दीमा माओवादीको सबैभन्दा प्रभाव भुरुङ तातोपानीमा छ । भुरुङको वडा अध्यक्षमा पुनः पार्टीले ओमप्रसाद फगामीलाई अगाडी सारेको छ ।

Leave a Reply