यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले २८ वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरु सर्वसम्मत रुपमा चयन गरेको छ । मनोनयन दर्ताको मिति नजिकदैं जाँदा कांग्रेसले जिल्लाभरबाट सर्वसम्मत उम्मेदवार चयन सहित प्रचारप्रसारलाई तिब्रता दिएको जनाएको छ ।

जिल्लाको कुल ४५ वटा वडाहरुमध्ये बेनी नगरपालिका वडा नं १, ५, ७, मंगला गाउँपालिका वडा नं ३, रघुगंगा गाउँपालिका वडा नं २,३,४,६,७, अन्नपूर्ण गाउँपालिका वडा नं ७ बाहेक सबै वडामा वडा अध्यक्षका लागि उम्मेदवाहरु चयन गरिसकेको नेपाली कांग्रेस म्याग्दीका सचिव हिरा पुनले बताउनुभयो । ‘भोली अधिकांस वडा टुंगिन्छ,‘पालिकाका उम्मेदवारहरुको समेत सर्वसम्मत नजिक पुगेको छ’ सचिव पुनले भन्नुभयो । वडाध्यक्षको उम्मेदवार टुङ्ग्याएको वडाहरूमा चुनावी रणनीति सहित आवश्यक तयारी थाल्न समेत निर्देशन दिइएको छ ।

छ वटा स्थानीय तह रहेको म्याग्दीमा हालसम्म बेनी नगरपालिका, मालिका र मंगला गाउँपालिका अध्यक्ष टुङ्ग्याएको छ भने धौलागिरी, रघुगंगा, अन्नपूर्ण गाउँपालिका अध्यक्ष शुक्रबारभित्र टुंगाउने जनाइएको छ ।

बेनीको मेयर सहित पाँचवटै स्थानीय तहमा दावेदार धेरै भएकाले उम्मेदवार टुङ्ग्याउन बाँकी रहेको कांग्रेसले जनाएको छ । यता पाँच दलिय गठबन्धनको तालमेलले समेत खासै प्रगति लिएको छैन् । गठबन्धन भित्रका दलहरुले एउटै स्थानीय तहमा माग गरेकाले समस्या भइरहेको छ । मालिकामा कांग्रेस र माओवादी दुबैको अध्यक्षमा दावी भएकाले अन्य स्थानीय तहमा समेत गठबन्धनको प्रगति सुस्त रहेको छ ।

Leave a Reply