आगामी ३० गते तोकिएको स्थानीय तह निर्वाचनलाई लक्षित गरी म्याग्दीका सबै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्लाका पाँचवटै गाउँपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ भने बेनी नगरपालिकामा जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याएको हो ।

जिससमा स्थापना भएको कार्यालयको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायधिश तेजनाथ पौडेलले उद्घाटन गर्नुभएको थियो । कार्यालय उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल सहित सरोकारवाला निकायको साथ आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जिसस प्रमुख देबेन्द्रबहादुर केसी, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल लगायत विभिन्न सरकारी कार्यालयमा प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो । बेनी नगरपालिका सहित पाँचवटै गाउँपालिकाकामा निर्वाचन अधिकृत खटिएका छन् ।

अन्नपूर्ण गाउँपालिकामा जिल्ला समन्वय अधिकारी जानुका सुबेदी, मंगला गाउँपालिकामा जिल्ला न्यायधिवक्ता धर्मराज पौडेल, मालिका गाउँपालिका उपन्यायधिवक्ता गोविन्द उपाध्याय,धवलागिरी गाउँपालिकामा निर्देशक आन्तरिक राजश्व कार्यालय काठमाण्डौका हरिराम नागिला र रघुगंगा गाउँपालिका स्रेस्तेदार तेजप्रसाद पौडल रहनुभएको छ ।

निर्वाचनको कामका लागि खटिएको मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतलाई उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने लगायतका मुख्य जिम्मेबारी रहेको छ ।

Leave a Reply