म्याग्दीमा भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चत गर्नु राजनीतिक दलको मुख्य जिम्मेबारी रहेको मुख्य निर्वाचन अधिकृत तेजनाथ पौडेलले बताउनुभएको छ । बिहिबार जिल्ला समन्वय समितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गदैं जिल्ला न्यायधिश पौडेलले निर्वाचनका लागि शान्तिपूर्ण वातावरण तयार गरेर जनताको अधिकार रक्षा गर्नुपर्ने बताउनुभयो ।

‘स्थानीय तह जनतासँग प्रत्यक्ष जोडिने निकाय हो,‘सबैको साथ र सहयोगबाट यो सम्भव छ’ पौडेलले भन्नुभयो । उहाँले भयरहित वातावरणमा स्वच्छ, मर्यादित निर्वाचन गराउन सकेमा धेरै भन्दा धेरै मतदातालाई मतदान प्रक्रियामा सहभागी गराउन सकिने बताउनुभयो । ‘जनसहभागिताले निर्वाचनप्रतिको विश्वास जगाउँछ,‘सबैको जिम्मेवारी निर्वाचन सफल बनाउनु रहेको छ’ पौडेलले भन्नुभयो । निर्वाचनमा कानुनअनुसार निर्वाचन आचारसंहिता पालनामा समेत उहाँले जोड दिनुभएको छ।

जिल्लामा रहेका सबै दल,संचारकर्मी, नागरिक समाज लगायत सरोकारवाला निकायहरुले निर्वाचनलाई स्वच्छ र पारदर्शी ढंगले गराउने जिम्मेबारी भएको समेत उहाँको भनाई थियो । सोही अवसरमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले मतदान केन्द्रमा रहेका समस्या, आचारसंहिता पालनाको अवस्था लगायत दलहरुसँग आवश्यक समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।

जिल्लाका ६ वटै स्थानीय तहका १५ मतदानस्थलका २९ मतदान केन्द्र ‘अति संवेदनशील’ रहेको जनाएको छ । त्यस्तै संवेदनशील ४९ र सामान्य १० मतदान केन्द्र रहेको जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका रानाको भनाई छ । जिल्लामा कुल मतदान केन्द्र ७४ र मतदान स्थल १ सय १० रहेको छ । म्याग्दीमा ८५ हजार ३७५ मतदाता रहेका छन् ।

Leave a Reply