गएको तीनवटै तहका निर्वाचनमा जिल्लाको सुरक्षा निकायले अत्याधिक खोजी गरेका स्थानीय नेताहरू नै अहिले स्वतन्त्रबाट निर्वाचनमा मत माग्न थालेपछि भकिम्लीमा चहलपहल बढेको छ । निर्वाचन बहिस्कारमा कठोर रुपमा प्रस्तुत हुने गरेका स्थानीय नेताहरू आफ्नो भिजन अनुसार वडा हाँक्ने गरी चुनाव प्रचार–प्रसारमा ब्यस्त छन् ।

‘अब हामीले नमुना वडा बनाउँछौ,‘पार्टीको निर्णय अनुसार नै मैदानमा उत्रिएका छौ’ वडा सदस्यका उम्मेदवार किसानले बेनीअनलाइनलाई भन्नुभयो । अघिल्ला निर्वाचन पार्टीको निर्देशनमा बहिस्कार गरेको बताउँदै यसपटक पार्टीकै जिल्लास्तरका नेताहरूको उपस्थितीमा उम्मेदवारी दिएकाले विप्लवका नेताहरूले समेत आफ्नो जनमत मतपेटिकामा थाप्ने गरी जनतामा जाने थालेपछि अन्य राजनीतिक दललाई समेत दबाब पुगेको छ ।

स्वतन्त्रमा उम्मेदवारी दिएका नेकपाका नेताहरू स्थानीयस्तरमा विद्यालय, सामुदायिक भवन, विकास निर्माण तथा दलित आन्दोलनका अभियानमा अग्रस्थानमा बसेर समुदायको बिचमा काम गरेको अनुभव समेत छ । गएको स्थानीय तहमा स्वतन्त्रबाटै उम्मेदवारी दिनुभएका हालका वडा अध्यक्ष पदन पुनलाई सघाएको टोली नै अहिले स्वतन्त्र प्यानलबाट निर्वाचनमा छ ।

निर्वाचनको मुखमा विप्लवका कार्यकर्ताले नेपाली कांग्रेसका उम्मेदवार जसबहादुरलाई अपहरण समेत गरेका थिए ।  बेनी नगरपालिका भित्र सबैभन्दा जोखिम र धेरै चासोको केन्द्र समेत भकिम्ली भएको बेलामा विगतमा बहिस्कार गरेकाहरू नै मैदानमा देखिएपछि स्थानीय समेत उत्साहित छन् ।

हालका वडा अध्यक्ष पुनले समेत वडाबाट प्राप्त हुने सवारीसाधनको समेत कम प्रयोग गरी साधारण जीवन शैलीमा सबै भकिम्लीबासीको माग अनुसार बजेट विनियोजन गर्ने तथा समुदायसँगै जनश्रमदान गरेर समेत नमुना कार्य गर्नुभएको थियो ।

वडा अध्यक्ष पुनलाई सघाएको टोली अहिले चुनावी मैदानमा भएपनि पुनः नेकपा माओवादी केन्द्रले समेत वडा अध्यक्षमा दोहोराउने निर्णय गरेकाले समेत चुनावी मैदानमा थप रोचक दृष्य देखिने सम्भावना छ । विगतका निर्वाचनमा सुरक्षा जोखिम तथा उम्मेदवार नै अपहरण हुने स्थान भएकाले जिल्लाका ६ वटै स्थानीय तहका १५ मतदानस्थलका २९ मतदान केन्द्र ‘अति संवेदनशील’ मा भकिम्लीलाई समेत राखिएको थियो ।

जिल्लामा कुल मतदान केन्द्र ७४ र मतदान स्थल १ सय १० रहेको छ। म्याग्दीमा ८५ हजार ३७५ मतदाता रहेका छन् । निर्वाचनको बेला भकिम्लीलाई सुरक्षा निकायले सधै रेड जोनमा राख्ने गरेकोमा अहिले भने विप्लवका नेताहरु नै उम्मेदवार बनेपछि ’ग्रिन जोन’ जस्तै भएको छ ।

कस्तो छ भकिम्लीमा मतदाताको अवस्था
दुईवटा मतदान केन्द्र रहेको भकिम्लीको जयन्ती मावि मतदान केन्द्रमा १६०४ र मुसुङडोली आधारभुत विद्यालयमा ९ सय १० मतदाता छन् ।गएको स्थानीय तहमा हालका वडा अध्यक्ष पुनले ५ सय १६ मत ल्याउँदै गर्दा नेपाली कांग्रेसका जसबहादुर पुन ४ सय २१, नेकपा एमालेका दिलबहादुर थापा मगरले ४ सय मत प्राप्त गर्नुभएको थियो ।

अहिले नयाँ मतदाता थपिएका छन भने स्वतन्त्र र मंगोल नेशलनबाट समेत उम्मेदवारी दिइएकाले कसको जित हुन्छ भन्ने अवस्था छैन् । भकिम्ली विप्लव नेकपाको जनमत भएको वडाभित्र पर्छ ।

नेकपालाई सरकारले प्रतिबन्ध लगाउँदा समेत समुदायमै बसेर काम गरेका नेताहरू स्वतन्त्रको टिममा भएकाले यसपटक स्वतन्त्रबाट समेत भकिम्लीमा जनमत आफ्नो पक्षमा पार्ने प्रयास हुने धेरै सम्भावना छ भने माओवादी केन्द्रको तर्फबाट हालकै वडा अध्यक्ष पुन मैदानमा हुनुहुन्छ ।

वडा अध्यक्ष पुनलाई नगरपालिका भित्रका वडा अध्यक्षहरुमा साधारण र जनताको आवश्यकता अनुसार बजेट विनियोजन गर्ने भएकाले पनि पाँचबर्षमा जनस्तरबाट गुनासो आएनन् । बजेटमा दलिय सिन्डिकेट तथा आफ्ना पार्टीकालाई मात्रै उपभोक्ता समिति खोज्ने प्रबृत्तिलाई तोड्ने वडा अध्यक्षमा पुनलाई चिन्ने गरिन्छ ।

त्यस्तै नेपाली कांग्रेस, नेकपा एमालेले समेत भकिम्लीको तल्लो क्षेत्रबाट उम्मेदवार बनाएको, अघिल्लो निर्वाचनमा वडा अध्यक्ष पुनलाई सघाएका मंगोल नेशलनका जिल्ला कोषाध्यक्ष नै वडा अध्यक्षमा उठेकाले निर्वाचनको माहोल पेचिलो हुने छ। विसं २०६९ को असारमा पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेतृत्व गरिरहेको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी पार्टीबाट अलग्गिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा हुदै विप्लवको नेपाल कम्युनिस्ट पार्टीमा पुगेकाले यसपटक के हुन्छ भन्ने अवस्था छैन् ।

Leave a Reply