दुई वर्षपछि भौतिक उपस्थितिमा आज शुरु भएको एसइई परीक्षामा म्याग्दीबाट ६२ वर्षीयासँगै २ हजार २ सय ४५ जनाले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन्।

म्याग्दीमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयबाट ६२ वर्षीया रेनु मल्लसहित अन्य ३ जना आमाले समेत एसइई दिएका हुन्। जिल्लामा कुल २ हजार २ सय ४५ जना परीक्षार्थीमध्ये छात्र १ हजार ९५ र छात्रा १ हजार १ सय ५० जना एसइईमा सहभागी छन्।

उज्यालो वैकल्पिक विद्यालयबाट ६२ वर्षीया मल्लसहित ५५ वर्षीया योगमाया शर्मा, ५२ वर्षीया दिलशोभा पुन र ५६ वर्षीया धनमाया कामी पनि एसइई परीक्षामा सहभागी भएको विद्यालयका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। उनका अनुसार उज्यालो विद्यालयमा ५ जनाले यस पटक एसइईको तयारी गरेका थिए तर एक जना आमा भने परीक्षामा सहभागी भइनन्।

म्याग्दीमा पहिलो पटक संस्कृततर्फ समेत विद्यार्थी एसइईमा सहभागी भएका छन्। बेनी नगरपालिका–९ गलेश्वरस्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट ९ जनाले एसइई दिने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिए। यस विद्यालयमा संस्कृतमा समेत अध्यापन हुँदै आएको छ।

परीक्षामा जिल्लाका विभिन्न ५ वटा प्राविधिक धारतर्फका १ सय ३१ जना विद्यार्थी सहभागी छन्। परीक्षामा एउटा खुला विद्यालयसहित ७४ वटा विद्यालयका विद्यार्थी सहभागी रहेको कार्यालयले जनाएको छ। परीक्षामा ग्रेड वृद्धिका लागि ८ जना सहभागी हुन लागेका छन्।

जिल्लामा एसइई सञ्चालनका लागि ९ वटा परीक्षा केन्द्र तोकिएको छ। बेनीको प्रकाश मावि, बेनी सामुदायिक मावि, न्यू वेष्ट प्वाइन्ट आवासीय मावि, धवलागिरि मावि सिंगा, मंगला मावि बाबियाचौर, जनप्रिय मावि दरबाङ, हेम मावि सिवाङ, मुक्तिधाम मावि भगवती र मुक्तिमार्ग मावि घारलाई एसइई परीक्षा केन्द्र तोकिएको छ। देशभरि ५ लाख १४ हजार ९ सय ६७ जना परीक्षार्थीले एसइई दिँदै छन्।

Leave a Reply