म्याग्दीको धवलागिरी गाउँपालिकामा वडातहमै सत्ता साझेदार दलहरूबीच भागबन्डा मिले पनि अन्य पालिकामा भने करिब गठबन्धन टुट्ने अवस्थामा पुगेको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन गरेर जाने केन्द्र तथा प्रदेशको निर्देशन भए पनि पटक–पटकको छलफल र भेटघाटमा सत्ता साझेदार दलहरूबीचको आफ्नै अडानका कारण तालमेलको प्रयास असफल भएको नेताहरूको भनाई छ ।

पाँच दलीय गठबन्धनलाई सहमतिबाटै निर्वाचनसम्म लैजान गरिएको प्रयास सफल नभएको भन्दै सोमबार आफ्नै तरिकाले मनोनयन दर्ता गर्ने तयारीमा दल पुगेका छन् ।

अब उही एजेण्डामा फेरी छलफलको मुडमा दलहरु छैनन् । माओवादीले खोजेको काँग्रेसले सहमति नदिने, कांग्रेसले भनेको माओवादीले सहमति नजनाउने, सबैलाई मिलाएर लैजानुपर्छ भन्ने एकिकृत समाजवादीको प्रस्ताव दुबैले समान्य सम्झिने अवस्थाको कारण गठबन्धनको सम्बन्ध चिनी जस्तै गुलियो हुन सकेको छैन् ।

आइतबार विहान बसेको बैठकमा नेकपा माओवादी केन्द्रले रघुगंगा सहित अन्य स्थानीय तहमा तालमेलमा कांग्रेसले चासो नदेखाएकाले बेनी नगरमा समेत तालमेल हुन नसक्ने बताएको थियो भने नेपाली कांग्रेसले सहमति हुने ठाउँमा तालमेलमा सकारात्मक रहेको भन्दै संवादलाई निरन्तरतामा जोड दिएको छ ।

माओवादी केन्द्रले कांग्रेसले बलियो स्थानमा सहकार्य गर्न नखोजेको आरोप लगाएको छ भने नेपाली कांग्रेसले जिसस प्रमुख सहितका पदहरूमा लिखित सहमति नै गर्ने बताएको छ । जिल्लाभर वडातहसम्म सहकार्यको चर्चा चलेपनि कांग्रेसले माओवादीले धेरै स्थान खोजेको र माओवादीले केही स्थानमा खुम्चाउने प्रयास गरेको भन्दै आफ्नै अडानमा देखिएपछि समाजवादीले समेत आफ्नो पार्टीले स्वतन्त्र तरिकाले निर्णय गर्ने जनाएको छ ।

अब समाजवादी आफ्नो तरिकाले चुनाव लड्ने अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए । जिल्लाका कांग्रेस, माओवादी, एकिकृत समाजवादी सहित सत्तापक्षीय दल करिब चुनावमा एक्लै लड्ने अवस्था देखिएको छ ।

मनोनयन दर्ता पछि फिर्ता गर्न उम्मेदवारले अस्वीकार गरे त्यसले मतदान मै असर गर्ने भएकाले मनोनयनदर्ता अगाडी नै सहमतिको अन्तिम प्रयास गर्न केही नेता सक्रिय भएको देखिन्छ । सोमबार मनोनयन दर्ताको अन्तिम दिन भएकाले मनोनयन दर्तासँगै गठबन्धन टुटेको औपचारिक घोषणा गर्ने मुडमा दलहरू छन् ।

जिल्लाका विभिन्न वडाहरूमा सत्तापक्षीयले स्थानीय अनुकुल अनुसार तालमेल गरेपनि जिल्लाका नेतृत्वतहमा भने आफ्नै अडानले वडा तहको तालमेलमा समेत असर पर्ने देखिएपछि मित्रवत् प्रतिस्पर्धाको सम्भावना रहेको छ । मिलेन र मित्रवत् प्रतिस्पर्धा हुने भएमा एउटै मञ्चबाट मत माग्नेसम्मको वातावरण बनाउन समेत दल सकारात्मक छन् ।

यता जिल्लामा तालमेलको छलफलमै रुमालिरहेका नेताहरुलाई पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकामा वडातहमै भएको बाडफाँटको उदाहरण समेत दिने गरिएको छ । गाउँपालिकामा ७ वटै वडातहसम्म तालमेल गर्ने गरी सत्तारुढ पाँच दलीय गठबन्धनमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रबिच स्थानीय तहको प्रमुख र उपप्रमुख, वडा अध्यक्षको सिट बाँडफाँट गरी भागबन्डा टुंग्याइएको छ ।

दुई राजनीतिक दलबीच भएको लिखित सहमतिअनुसार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका प्रेम पुन, उपाध्यक्षमा माओवादी केन्द्रका रेशम पुन, वडा नं १ गूर्जा, वडा नं ६ मराङ र वडा नं ७ ताकमको वडा अध्यक्ष माओवादी केन्द्रले केन्द्रले पाएको छ भने नेपाली कांग्रेसले वडा नं २ लुलाङ, वडा नं ३ मुना, वडा नं ४ मुदी र वडा नं ५ मल्कवाङ लिने सहमति भएको छ ।

Leave a Reply