आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरुबीच म्याग्दीमा चुनावी तालमेल नहुने भएको छ । भागवण्डामा सहमति नभएपछि नेपाली काँग्रेसले बेनी नगरपालिकाको उपमेयरमा अमृतदेबी बानियाँलाई उम्मेदवार बनाएपछि चुनावी गठबन्धन नहुने भएको हो ।

आइतबार अन्तिम समयसम्म पनि बैठक बस्दा भागबण्डा नमिलेपछि गठबन्धन असफल भएको थियो । म्याग्दीको धवलागिरी गाउँपालिका बाहेक अन्य स्थानीय तहमा कांग्रेस एक्लै प्रतिस्पर्धामा जाने भएको छ । ‘अब हामी गठबन्धनको कुरा गदैनौ,‘यो औपचारिक रुपमै टुंगियो’ कांग्रेसका एक नेताले भने । यता माओवादी केन्द्रले समेत अन्य दलसँगको तालमेलका लागि बाटो खुल्ला भएको जनाएको छ ।

सत्तारुढ दलहरू बीचको बैठकले चुनावी गठबन्धन गर्ने निर्णय सहित प्रेश विज्ञप्ति जारी भएपनि पालिकास्तरमा सहमति नहुदाँ समस्या भएको थियो । मनोनयन दर्ता गर्ने समय भइसकेकाले अव गठबन्धनको छलफलको औचित्य नभएको नेताहरुले बताएका छन् ।

पार्टीहरू बीच एक आपसमा कुरा नमिलेपछि सत्ता गठबन्धन एक्ला एक्लै चुनाव लड्ने स्थित आएको बताइएको छ । माओवादीले मालिका गाउँपालिका अध्यक्ष दावी गरेपनि कांग्रेसले अस्वीकार गरेको थियो । त्यस्तै रघुगंगा गापाको उपाध्यक्षमा समेत माओवादीले दावी गरेको थियो ।

दुबै बाहेक अन्य रोज्न कांग्रेसले प्रस्ताव गरेपनि माओवादीले अस्वीकार गरेकाले समस्या भएको कांग्रेस नेताहरुको भनाई छ भने माओवादीले कांग्रेसले सजिलो हुने ठाउँमा सहमति नगरी गठबन्धनलाई धोका दिएको आरोप लगाएको छ ।

कांग्रेसले जिसस प्रमुख, उपप्रमुख सहित बेनी नगरपालिका उपमेयर, मंगलाको उपाध्यक्षमा गरेको प्रस्तावलाई माओवादी नेताले अस्वीकार गरेको अवस्थामा गठबन्धन टुटाउनुको विकल्प नरहेको नेताहरुको तर्क छ । भागवन्डा नमिल्दा गठबन्धन टुटेपछि मनोनयन दर्तापछि चुनावी अभियानमा तिब्रता दिने जनाएको छ।

Leave a Reply