---Advertisement---

इष्ट्ली गोर्खा नेपलिज एसोसिएसनमा कमल पुर्जा

On: April 29, 2022 12:00 AM
Follow Us:

इष्ट्ली गोर्खा नेपलिज एसोसिएसनमा नयां नेतृत्व चयन भएको छ । अध्यक्ष तीर्थ पुनले घरायसी कारण देखाउंदै राजिनामा दिएपछि उनको जिम्मेवारी ट्रष्टी कमलबहादुर पुर्जाले लिएका छन् । १२ मार्च शनिबार अपरान्ह भएको एसोसिएसन बैठकले पुनको राजिनामा स्वीकृत गर्दै कमल पुर्जाको अध्यक्षतामा नयां कार्यसमिति गठन प्रक्रिया शुरु गरेको थियो ।

एसोसिएसनका ट्रष्टीहरु ग्लेन र हेनरीको पर्यवेक्षणमा निर्वाचन प्रक्रिया अगाडि बढाइ अध्यक्ष कमल पुर्जा, यमबहादुर पुर्जा र एलान कुक उपाध्यक्ष, ग्यारी बोरो र राजेन्द्र पुर्जा सचिव, कोषाध्यक्ष श्यामप्रसाद पुर्जा र सहकोषाध्यक्ष नाइजेल उडहललाई चयन गरेको एसोसिएसनले जनाएको छ ।

एसोसिएसनले निवर्तमान अध्यक्ष तीर्थ पुनलाई उनको कार्यकालमा भएका योगदानप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गरेको छ । अध्यक्ष चुनिएपछि कयल पुर्जाले संस्थालाई पृथक ढंगले लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । बेलायतस्थित विभिन्न नेपाली संघसंस्था तथा स्थानीय समुदाय, नेपाली दूतावास, एनआरएनए यूके आदि संस्थाहरुसंग हातेमालो र समन्वय गरि समस्त सदस्यहरुको हितमा काम गर्ने पुर्जाको प्रण छ ।

उनले सदस्यता विस्तारलाई तीव्रता दिने जनाउंदै इच्छुक व्यक्तिलाई सदस्यता लिन अनुरोध पनि गरे ।

बेलायतको च्यारिटीमा दर्ता भएको इष्ट्ली गोर्खा नेपलिज एसोसिएसनले धेरै परोपकारी कार्य गरिसकेको छ । हालैमात्र संस्थाले रुस युक्रेन द्वन्द्वका कारण विस्थापित युक्रेनी नागरिकलाई खाद्यान्न र अत्यावश्यक स्वास्थ्य सामग्री पठाएको थियो ।

एसोसिएसनले युक्रेनबाट छिमेकी पोल्याण्ड लगायत देश पुगेका शरणार्थीहरुलाई दाल, चामल, पिठो, पास्ता, पोरिज, ओट्स, टिनका खानेकुरा, टुथ पेष्ट ब्रस, प्राथमिक उपचार सामग्री, साबुन, बच्चाहरुका लागि वाइप्स्, नेपी लगायत सामग्री पठाएको हो ।