यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले आज (शनिबार) चुनाव चिह्न प्रदान गरेको छ। आयोगमा दल दर्ता गराएका दलहरूले दलगत चुनाव चिह्न पाइसकेका छन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले छुट्टै चिह्न पाएका छन् ।

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई यसअघि नै तय गरिएका विभिन्न ४० प्रकारका चिह्नमध्येबाट म्याग्दीका स्वतन्त्र उम्मेदवारहरूका लागि हाँस चुनाव चिन्ह प्रदान गरिएको छ । स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूची रहेकोमा त्यही सूचीअनुसार जिल्ला भरका उम्मेदवारलाई चिह्न वितरण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

म्याग्दीमा बेनी नगरपालिकाको मेयरमा स्वतन्त्रका उम्मेदवार धनबाहादुर श्रीष, बेनपा–७ का वडा अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ,रघुगंगा गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट सागर भण्डारी, वडा नं २ भगवतीमा रञ्जना श्रेष्ठ सहित जिल्लाभरका स्वतन्त्र उम्मेदवारलाई हाँस चिन्ह वितरण गरिएको छ ।

स्थानीय तहको निर्वाचनमा म्याग्दीमा २० राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ वटा र मान्यता प्राप्त नभएका १४ वटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । स्थानीय तह निर्वाचनमा म्याग्दीमा राष्ट्रिय मान्यता प्राप्त ६ पाटी मध्ये नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजबादी) रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयमा राष्ट्रिय मान्यता प्राप्त नभएका दलहरू राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पाटी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी (समाजबादी), राष्ट्रिय प्रजातन्त्र पाटी, नेपाल दलित पार्टी, जनसमाजबादी पाटी नेपाल, विवेकशील साझा पाटी, नेपाल मजदुर किसान पार्टी, मौलिक जरोकिलो पाटी, उन्नत लोकतन्त्र पार्टी, सामाजिक एकता पाटी दर्ता भएको निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिए ।वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदानका लागि म्याग्दीमा ८५ हजार ३७५ जना मतदाता कायम छन् ।

आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडामा बैशाख ३० गते हुने चुनावका लागि बैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार मनोनयन दर्ता गराएका मध्ये शुक्रबार ४१ जनाले उम्मेदवारी फिर्ता लिएको बताइएको छ । जिल्लामा कुल ७१८ उम्मेदवार कायम भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार म्याग्दीमा आगामी चुनावमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिंगी मतदाता कायम भएको छ ।
ि

Leave a Reply