आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लाका उम्मेदवारले चुनाव प्रचार तीव्र बनाएका छन् ।नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल मङ्गोल अर्गनाइजेशनलगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवार भोट माग्न गाउँ पसेका छन् ।

दलका झण्डा र चुनाव चिह्न राखिएको गाडीमा स्पिकर जोडेर चुनावी गीत घन्काउँदै गाउँ टोलमा भोट माग्न आउने उम्मेदवारको लर्को लागेको धौलागिरि गाउँपालिका–७ ताकमका सुनिल भण्डारीले बताउनुभयो ।“फरक–फरक दलको वडा र पालिकाका उम्मेदवार घरदैलोमा हिँड्नुभएको छ”, उहाँले भन्नुभयो, “उम्मेदवार र नेताको चहलपहलले चुनावी माहोल बढाएको छ ।”

उम्मेदवारले भेटघाट र घरदैलोलाई प्रभावकारी बनाउन जोड दिएका छन् । धेरै मतदातामाझ पुग्ने उद्देश्यले सभालाई भन्दा घरदैलोलाई जोड दिएका हुन् । दिउँसो सभा गर्ने कार्यतालिका बनाएका उम्मेदवारले साँझ र बिहानको समयमा घरदैलो गरेका छन् । नागरिकलाई आफ्ना प्राथमिकता जानकारी गराउने र मत माग्न उम्मेदवार घरदैलो, सभा र भेटघाटलाई प्रचारको माध्यम बनाएका छन् ।

छवटा स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा २३७ पदका लागि ७१८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्षसहित पाँचै जना जनप्रतिनिधि निर्विरोध भएका छन् ।

सबैजसो टोलमा कुनै न कुनै दलका उम्मेदवार भएकाले चुनावले चहलपहल बढाएको बेनपा–९ का केशव चोखालले बताउनुभयो । घरदैलोका क्रममा उम्मेदवारले आफूलाई मत दिएर जिताउन आग्रह गरेका छन् । उनीहरुले मतदाताका समस्या, सुझाव, गुनासा सुन्ने र प्रतिबद्धता जनाएका छन् ।

सडक स्तरोन्नति गर्ने, खानेपानीको सुविधा विस्तार गर्ने, शिक्षा र स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउने, पालिका र वडाको सेवा प्रवाहलाई सहज बनाउने, विकास योजनालाई पारदर्शी तथा जनसहभागितामूलक बनाउने उम्मेदवारको कार्यसूची छ ।

माओवादीबाट मालिका गाउँपालिकाको अध्यक्षका उम्मेदवार रेशम जुग्जालीले गाउँका सडकमा बजारबाट सामान मात्र लैजाने नभएर गाउँका उत्पादन बोकेर बजार पु-याउने र गाउँमा पैसा भित्र्याएर पुगेको सुविधा उपयोगका लागि सक्षम बनाउने मुद्दालाई जोड दिएको बताउनुभयो ।मालिका–६ दरवाङका खेमबहादुर पुनले गत चुनावमा जनप्रतिनिधिले खानेपानी ल्याउने वाचा अझै पूरा नगरेका गुनासो गर्नुभयो ।

“पाँच वर्षअघिकै खानेपानीको मुद्दालाई अहिले पनि दोहो-एर भोट माग्न आएका छ”, उहाँले भन्नुभयो, “योजना बनाएर सपना देखाउने मात्र नभएर कार्यान्वयन गर्ने नेतृत्वको आवश्यकता देखिएको छ ।”

Leave a Reply