बेलायतमा बसोबास गर्ने नेपाली शसक्त महिला सुमन पुनले बेलायतमा आउँदो मे महिनामा हुने स्थानीय निर्वाचनमा काउन्सिलरका लागि टिकट प्राप्त गर्न सफल भएकी छन् । अल्डरसट निवासी पुनले कञ्जरभेटिभ पार्टीबाट रसमुर बरो काउन्सिलको चेरीउड वडाबाट काउन्सिलरको टिकट लिन सफल भएकी हुन् ।

२०१९ देखि कञ्जरभेटिभ पार्टीबाट राजनीति शुरू गरेकी उनी पूर्व गोरखा सैनिककी श्रीमती समेत रहेकी उनले पार्टीमा डाइभरसिटी समूहको उपाध्यक्ष र व्यापार उद्यम समूहकी अध्यक्षको रुपमा काम गरिरहेकी छन् । आफूले पार्टी र समाजको निम्ती पुर्याएको योगदानको कदर हुँदै टिकट पाएकोमा उनले हौसला मिलेको बताइन् ।

लण्डन नेपाल न्यूजसँग बोल्दै उनले भनिन्, महिला नेतृत्वको निम्ती अघि बढ्न खोजेकी छु, आशा छ सबैको साथ सुझाव सल्लाह पाउनेछु । सुमनले लिडरसीप म्यानेजमेण्टमा एमएस्सी गरेकी छन्, भने मान ट्राभल एण्ड टूर सर्भिसको प्रबन्ध निर्देशक तथा सात वर्षदेखि गोरखा सर्भिसेज लाइफ केयर म्यानेजमेण्टको पनि संस्थापक निर्देशकको रुपमा काम गरिरहेकी छिन् ।

बेलायतमा नेपाली कला संस्कृतिलाई फैलाउन भूमिका खेलिरहेकी उनले केही समयअघि युकेका नेपाली कलाकारहरुले देशप्रेमले भरिएको म्यूजिक भिडियो पनि बनाउने काममा समेत हात हालेकी थिइन् ।

बेलायतमा नेपाली मूलका काउन्सिलरहरु थपिँदै गए पनि महिला काउन्सिलरहरुको संख्या भने न्यून छन् । उनले आफूले बेलायतमा रहेका नेपाली महिलाहरुको प्रतिनिधित्व गर्दै यहाँको राष्ट्रिय राजनीतिको बाटोमा हिडेको भन्दै यस कार्यमा साथ दिन आग्रह गरिन् ।

लण्डन नेपाल न्यूजसँग बोल्दै उनले भनिन्,आफूलाई टिकट दिलाउन सहयोग गर्ने काउन्सिलरहरु प्रवेश केसी,नेम थापा र जीव बेल्वासेलाई पनि धन्यवाद दिइन्।उहाहरुको प्रोत्साहनले आफूले टिकट पाएको भन्दै उनले अब काउन्सिलर भएर समाज र देशको सेवा गर्ने उद्देश्य रहेको समेत बताइन् । उनी बेलायतमा रहने नेपालीहरु मध्ये एक शसक्त र निडर नेत्रीको रुपमा समेत छवि कमाउन सफल भएकी छन् ।नेपालको म्याग्दी जिल्लामा जन्मिएकी सुमन विगत १८ बर्षदेखि बेलायतमा बस्दै आएकी छन् । Source:-londonnepalnews.com

Adv

Leave a Reply