म्याग्दीमा दलहरूको निर्वाचन प्रचार-प्रसारलाई तीव्र पारेका छन् । सहर–बजार देखि ग्रामिण क्षेत्रसम्म निर्वाचनको रौनकता छाएको छ । दोस्रोपटक हुन लागेको स्थानीय तहको निर्वाचनको चुनावी अभियानलाई थप आर्कषित गर्न दलहरूले गीत–संगीतका माध्यमलाई समेत प्राथमिकता दिएका छन् ।

चुनावी आमसभामा मतदातालाई आर्कषित गर्न दलहरूले कलाकारहरूको टोली नै बोकेर हिडेका छन् । आफ्नो पार्टीमा आस्थावान कलाकारहरू बोकेर चुनावी सभामा पुगेपछि मतदाताको जमघट समेत बढेको छ । आफ्नो पार्टीको गीतमा नृत्य प्रस्तुत गर्ने कलाकारहरूले गाउँ ठाउँको विकासमा केन्द्रित हुन पार्टीलाई भोट हाल्न समेत आह्वान गर्ने गरेका छन् ।

नेकपा एमाले बेनी नगरपालिकाले गीतसंगीतसँगै अभियनलाई समेत प्राथमिकता दिएको छ भने नेपाली कांग्रेस अन्नपूर्णले समेत हरेक वडामा हुने चुनावी सभामा कालाकारहरूलाई समेत प्राथमिकतामा राखेको स्थानीय पत्रकार सुरेन गुरुङले बताए ।

‘भाषणले मात्रै मतदातालाई आर्कषित गर्न सकिदैन्,‘सांगितिक कार्यक्रमले माहोल बनाउने रहेछ’ गुरूङले भने । उनले अन्नपूर्णका हरेक वडामा नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धनले कलाकारलाई प्राथमिकता दिएको बताए । प्रमुख राजनीतिक दलसम्बद्ध सांस्कृतिक संगठन गीत–संगीतका माध्यमबाट स्थानीय निर्वाचनको पक्षमा वातावरण बनाउन थालेपछि उम्मेदवार समेत उत्साहित भएका छन् ।

सत्तारुढ नेपाली कांग्रेसले स्थानीय कलाकारलाई पारिश्रमिक समेत दिएर चुनावी अभियानमा सहभागी बनाइरहेको जनाएको छ भने नेकपा एमाले र माओवादी केन्द्रले समेत चुनावी खर्चबाट समेट्ने बताएको छ । नेकपा एमाले बेनी नगरको कार्यक्रममा जिल्लामा स्थापित कलाकारहरु नै सहभागि छन् ।

नाटक र अन्य अभिनयबाट अन्य दललाई आरोप लगाउन नपाइने भएकाले अनुगमन समेत गरिने निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । निर्वाचन आयोगलेस्थानीय तह निर्वाचन आरसंहिता २०७८ ले ‘कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न÷नगराउन नहुने’ व्यवस्था गरेको छ ।

Leave a Reply