म्याग्दी दलहरूले आचारसंहिता विपरीत चुनावी गतिविधिलाई तिब्रता दिएका छन् । निर्वाचन आचारसंहिता, २०७८ लाई पूर्णरुपमा पालना गर्न माग गरेपनि सदरमुकाम बेनीमै आचारसंहिता विपरीतका गतिविधिमा संलग्नहरू हुदाँ समेत सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको छ ।

आचारसंहिता विपरित माइकिङ,मोटरसाइकल ¥याली ठूलो आकारको झन्डा, ब्यानर, ब्याच लगायत प्रचार सामग्री प्रयोग गरी खुलेरै उल्लंघन गरेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आचारसंहितामा निर्वाचन चिह्न अंकित क्याप, ज्याकेट, कमिज, मास्क, लकेट, झोला र कुनै पनि पहिरन प्रयोग गर्न नपाइने भएपनि ठूला दलका उम्मेदवारहरूले प्रयोग गरेका छन भने साना दलले समेत सोही कार्यलाई निरन्तरता दिएको देखिन्छ ।

म्याग्दीमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले सभाबाहेक साउन्ड सिस्टमको प्रयोगलाई निषेध, माइक गाडीमा हालेर चुनावप्रचार, कपडामा बनाइएको ३ फिट लम्बाइ र ३ फिट चौडाइ भएको दलको झन्डा र चुनाव चिह्न राख्न पाइने नियम भएपनि उल्लंघन भएको भन्दै रघुगंगा गाउँपालिकाका स्वतन्त्रका उम्मेदवार सागर भण्डारीले लिखित उजुरी गरेका थिए ।

ठूला दलले लाखौं खर्चिएर चुनावी प्रचार–प्रसार गरिरहेको अवस्थामा स्वतन्त्रका उम्मेदवारलाई समस्या भइरहेको उनले बताए । ‘नियम पालना सबैले गर्नुपर्छ,‘सानालाई ऐन, ठूलालाई चैन, पहुँचवालाले नियम तोडे अवसर बनेको छ’ भण्डारीले भने ।

यता निर्वाचन कार्यालयले आचारसंहिता उल्लंघनको घटना नोटिस भइरहेको बताउँदै कानुनी कारबाही हुने चेतावनी समेत दिएको छ । जिल्ला निर्वाचन अधिकृत भिमप्रसाद घिमिरेले दलहरूलाई आचारसंहितको पूर्णरुपमा पालना गर्न सचेत बनाएको बताए ।

‘आचारसंहित पालना गर्न सचेत बनाएको छु,‘प्रचारप्रसार साम्रागीको प्रयोगमा उल्लंघन भएको छ’ प्रमुख घिमिरेले भने ।मतदातादेखि उम्मेदवारसम्म, कार्यकर्तादेखि नेतासम्म सबैले आचारसंहिता विपरीतका गतिविधि सञ्चालन नगर्न र नगराउन निर्देशन दिइएको भएपनि कार्यान्वयन प्रभावकारी हुन नसकेको भन्र्दै थप अनुगमन गरिने उनले बताए ।

आचारसंहिताले गर्न पाइने भनेका बाहेकका सबै काम ‘गर्न नपाइने’ उनले बताए ।म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडामा आचारसंहितको अनुगमन सम्भव नभएपनि दलहरूलाई पालना गर्न नियमित सचेत बनाइरहेको बताए । म्याग्दीमा राष्ट्रिय मान्यता प्राप्त ६ दल र मान्यता प्राप्त नभएका साना १४ दल गरी २० दल निर्वाचन प्रयोजनका लागि कार्यालयमा दर्ता छन् ।

Leave a Reply