म्याग्दीको सदरमुकाम बेनीमा बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा बदर मत कम गर्नेे उद्देश्यले बिहिबार नमुना मतदान गरेको हो ।

बेनी सामुदायिक मावि मतदान केन्द्रमा विद्यार्थी,सरोकारवाला निकायको उपस्थितमा नमुना मतदान भएको निर्वाचन अधिकृत भिमप्रसाद घिमिरेले बताउनुभयो ।‘यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सकेका छैनौ,‘विद्यार्थीमार्फत अभिभावकलाई सिकाउन नमुना मतदान गरिएको छ’ घिमिरेले भन्नुभयो ।

जिल्लाका सबै ६ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयमार्फत समेत केन्द्रमा नमुना मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।बेनीमा आयोजित नुमना मतदाता कार्यक्रमको उद्घाटन गदैं जिल्ला न्यायधिश एवम् मुख्य निर्वाचिन अधिकृत तेजनाथ पौडेलले मतदाताको मत अमुल्य हुने भएकाले बदर मतलाई घटाउन सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

‘मत बदर हुदाँ आफुँलाई मन परेको उम्मेदवारलाई नै असर गर्न सक्छ,‘अब मतदाता शिक्षालाई नै धेरै ध्यान दिनुपर्छ’ पौडेलले भन्नुभयो । मतदान केन्द्रमा डोरीले बाँधिएको, छेउछाउमा प्रहरी,म्यादी तैनाथ सहित मतदान केन्द्रमा कर्मचारीको उपस्थिती थियो भने बीचभागमा मतपत्र लेखिएको बाकस थियो ।

अर्कोतिर लाइन बसिरहेका मानिस थिए । नमुना मतदानमा महिला, पुरुष, अशक्त र बृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिने ब्यवस्था मिलाइएको थियो भने मतदानस्थलमा मतदातालाई मत बदर नहुने गरी मतपत्र पट्याउन पनि कर्मचारीले सिकाइरहेका थिए । कार्यक्रममा जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत पौडेल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना सहितको उपस्थिीति रहेको थियो ।

 

Leave a Reply