जन्मदिन मनाउने आ–आफ्नै शैली र तरिका हुन्छन् । कतिपय व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा आफन्तजन, इष्टमित्र तथा साथीभाइलाई बोलाएर भव्य पार्टी समेत दिन्छन् । कतिपयले भने विभिन्न कार्यक्रममार्फत सहयोग गर्ने गरेका छन् । पछिल्लो समय जन्मदिन मनाउने शैली परिवर्तन हुँदै जान थालेको छ ।

यसैक्रममा हिमाली जिल्ला म्याग्दीका एक व्यक्ति जो अहिले विदेशमा हुनुहुन्छ, उहाँले आफ्नो जन्मदिनको अवसर पारेर आज (बिहीबार) म्याग्दी बालगृहलाई आर्थिक सहयोग गर्नुभएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोवा स्थायी घरभई हाल रोजगारको सिलसिलामा हङकङमा रहनुभएका विनोद पूर्जाले नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहलाई नगद १५ हजार पाँच रुपैयाँ सहयोग गर्नुभएको हो ।

उक्त रकममा पूर्जाको आमा गंगादेवी पूर्जाले एकहजार एकसय रुपैयाँ थप गरी कुल १६ हजार एकसय पाँच रुपैयाँ म्याग्दी बालगृहलाई सहयोग हस्तान्तरण गर्नुभयो । उक्त रकम गंगादेवी पूर्जाले नेपाल बाल सङ्गठन म्याग्दीका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो । सहयोग रकम बुझ्दै बाल सङ्गठनका अध्यक्ष शाक्यले सहयोगीदाता पूर्जालाई धन्यवाद दिनुभयो ।

सहयोगदाताले दिएको उक्त रकमलाई म्याग्दी बालगृहमा बसेर आवासीय सुविधासहित अध्ययन गर्दै आइरहेका बालबालिकाहरुको शिक्षादिक्षामा लगानी गरिने अध्यक्ष शाक्यको भनाइ छ । हाल म्याग्दी बालगृहमा अभिभावक नभएका ११ जना बालबालिकाहरुले अध्ययन गर्दै आइरहेका छन् ।

Leave a Reply