वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कर्मचारी खटाउँदा बागलुङमा लापरबाही भएको पाइएको छ। जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले वडाध्यक्षका उम्मेदवार भैसकेको व्यक्तिको नाम समेत मतदान केन्द्रमा खटिने कर्मचारीको विवरणमा प्रकाशित गरेपछि यसले बागलुङमा हलचल मच्चिएको हो। बागलुङ नगरपालिकाको सिम्ले केन्द्रमा सहायक कर्मचारीको रुपमा बानपा-११ का चिरञ्जीवी केसीलाई खटाइएको छ।

उनी बागलुङ नगरपालिका वडा नम्बर ११ मा एमाले तर्फबाट वडाध्यक्षको उम्मेदवार हुन्। बागलुङ नगरपालिका—४ को परिवार नियोजन संघको केन्द्रमा सहायक कर्मचारीको रुपमा रद्रबहादुर केसीलाई खटाइएको छ। उनी पनि नेकपा एमाले तर्फबाटबाट बानपा—६ को वडाध्यक्षको उम्मेदवार भएका छन्। मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले एक महिना अगाडि नै कर्मचारी विवरण लिएकाले भूलबस उम्मेदवारको नाम पनि पर्न गएको र त्यसलाई सच्याउने बताए।

‘एक महिना अगाडि कर्मचारीको विवरण लिईएको रहेछ,’उनले भने,‘त्यतिबेला उहाँहरु कर्मचारी हुनुहुन्थ्यो। त्यसकारण पर्नुभएको रहेछ हामीले सच्याउँछौं।’ कतिपय शारीरिक रुपमा अशक्त कर्मचारीको विवरण पनि परेको र त्यो पनि सच्याउन उनले बताए। ‘बाह्र सय कर्मचारी खटाउँदा ध्यान नपुगेर त्यस्तो भएको हो,’ न्यौपानले भने,‘जानाजान गरेको होइन। त्यस्तो पर्न गएकाले हामी तुरुन्तै सच्याउँछौं।’

वडाध्यक्षको उम्मेदवार भएकै व्यक्ति निर्वाचन कर्मचारीको रुपम खटाईनु गम्भीर लापरबाही भएको जानकार बताउँछन्। ‘कर्मचारीले उम्मेदवार हुनु अगाडि राजीनामा दिएको कागज पेश गर्नुपर्ने हुन्छ,’ अधिवक्ता भूमिश्वर गौतम भन्छन्,‘उम्मेदवार नै भएको व्यक्तिको नाम यसरी कर्मचारीको विवरणमा आउनुले लापरबाही भएको देखिन्छ।’

Leave a Reply