म्याग्दीको मालिका गाउँपालिका–५, देवीस्थानको गाईखर्क भन्ने स्थानमा लगाइएको लागूऔषध अफिम खेती नष्ट गरिएको छ। आज (शुक्रवार) देवीस्थानस्थित गाईखर्कको सार्वजनिक स्थानमा झण्डै पाँच रोपनी जग्गाको लागूऔषध अफिमलाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

गाईखर्कको स्थानमा लागूऔषध अफिमको खेती गरेको भन्ने गोप्य सूचनाको आधारमा अफिम खेतीलाई नष्ट गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारतीले बताउनुभयो । उहाँले गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सागर पन्तको नेतृत्वमा खटिएर गएको म्यादी प्रहरीसहित २८ जनाको टोलीले लागूऔषध अफिम खेतीलाई नष्ट गरेको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार अन्दाजी चारपाँच रोपनीको क्षेत्रफलमा लगाइएको अफिम खेतीलाई फडाँनी गरेर नष्ट गरिएको छ । सार्वजनिक स्थानमा कसले अफिमको खेती गरेको विषय भने खुल्न बाँकी रहेकाले अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। प्रहरीको आफ्नै नियमित कार्यक्रम तथा आसन्न चुनावको सुरक्षालाई मध्यनजर गरी सार्वजनिक स्थानको लागूऔषध नष्ट गरिएको बताइएको छ ।

प्रहरीले आसन्न पालिका चुनावको समयमा हुन सक्ने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न पनि सक्रियता बढाएको जनाएको छ । यसैगरी जिल्लाको अन्य ठाउँमा पनि हुन सक्ने लागूऔषधको खेती तथा कारोबारलाई नियन्त्रण गर्न आवश्यक खोजीकार्य र अनुसन्धान भैरहेको डिसएपी भारतीले बताउनुभयो ।

Leave a Reply